बुधबारे, ४ माघ–झापाको बुद्धशान्तिमा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न विशेष योजना शुरु गरेको छ । वडा नम्बर १ ले वडाभित्र सञ्चालनमा रहेका सामुदायिक विद्यालयका कमजोर विद्यार्थीका लागि टोल–टोलमा क्लोज क्याम्प शुरू गरेको हो ।
क्लोज क्याम्प वडाका विभिन्न नौ ठाउँमा हुने छन् । वडाको नमूना आधारभूत विद्यालयले क्लोज क्याम्प मंगलबारबाट शुरू गरेको छ भने बाँकी दुई सामुदायिक विद्यालयले क्याम्प सञ्चालनको तयारी गरेका छन् ।
क्लोज क्याम्पका लागि वडाका तीन वटै विद्यालयलाई वडाले बजेट विनियोजन गरेको छ । क्याम्प कम्तीमा दुई महिना सञ्चालन हुने वडाध्यक्ष अनिल वाग्लेले बताए ।
अंग्रेजी, गणित र विज्ञान विषयमा कमजोर देखिएका आधारभूत तहका विद्यार्थीलाई क्याम्पमा राखेर सिकाई उपलब्धी हासिल गर्ने योजनाका साथ वडाले बजेट विनियोजन गरेको वडाध्यक्ष वाग्लेको भनाइ छ । उनले योजनाले नौ जनालाई अल्पकालीन रोजगारी सृजना गरिएको पनि जानकारी दिए ।
