दमक, १९ माघ–नेपालसहित सिकिम, दार्जिलिङ, भुटान लगायत विभिन्न देश तथा विदेशमा बसोबास गरिआएका किरात भालुमी साम्पाङ राईहरु यतिवेला झापाको दमकमा भेला भएका छन् । भालुमी साम्पाङ राईहरुको साझा संस्था किरात भालुमी साम्पाङ राई वशं उत्थान तथा कल्याण समाजको चौथो महाधिवेशनमा सहभागि हुन दमकमा आइपुगेका हुन् ।

दमकस्थित किरात राई यायोक्खाको साकेला थानमा आज (शुक्रबार) भब्य समारोहबीच किरात भालुमी साम्पाङ राई वशं उत्थान तथा कल्याण समाजको चौथो महाधिवेशनको उद्घाटन भएको छ । समाजका अध्यक्ष तथा दमकका शैक्षिक व्याक्तित्व मनोजकुमार साम्पाङ राई, नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य सुमित्रा बाङ्देल चेलीले संयुक्त रुपमा पानसमा दीप बालेर महाधिवेशनको उद्घाटन गर्नुभएको थियो ।

महाधिवेशन आज (शुक्रबार) बाट सुरु भएर भोली (शनिबार) बन्दसत्रले नयाँ नेतृत्व निर्वाचित गर्दै सम्पन्न हुने किरात भालुमी साम्पाङ राई वशं उत्थान तथा कल्याण समाजका कोषाध्यक्ष एमएस साम्पाङ राईले जानकारी दिनुभयो । वहाँका अनुसार महाधिवेशनको बन्दसत्रले ७ जना पदाधिकारी र १० जना सदस्य रहेको समिति गठन गरिने छ ।

समाजका अध्यक्ष मनोजकुमार साम्पाङ राईको अध्यक्षतमा महाधिवेशनको उद्घाटन समारोह सम्पन्न भएको थियो । सो अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य वरिष्ठ साहित्यकार सुमित्रा बाङदेल चेलीले भाषा, धर्म, कला, संस्कृतीलाई बचाइराख्न आजको आवश्यक्ता भएको बताउनुभयो । वहाँले भाषा, धर्म, कला, संस्कृती बाँचे मात्रै समाज र देश बाच्ने भएकोले आफ्नो पहिचानको निम्ति सवै जाति र समुदाय एक जुट हुनुपर्नेमा जोड दिनुभयो ।

किराँत राना साम्पाङ राई समाजका अध्यक्ष तथा किरात राई यायोक्खा दमक नगर समितिका अगुवा पञ्चबहादुर राईले वशंको एकता गरेर आफ्नो भाषा र संस्कृतिको कुरा गरौ भन्ने विषयमा दाजुभाई तथा बन्दुहरुको सहभागि हुन गाह्रो मान्ने भन्दै दुखेशो पोख्नुभयो ।

आदिवासी जनजाति पत्रकार महासंघ प्रदेश सल्लाहकार तथा समाजवादी प्रेष संगठन झापाका अध्यक्ष अनिलदेब राईले पनि सो अवसरमा शुभकामना मन्तव्य राख्नुभएको थियो ।

महाधिवेशनको उद्घाटन सत्रमा किरात भालुमी साम्पाङ राई वंश उत्थान तथा कल्याण समाजका उपाध्यक्ष जसमान राईले स्वागत मन्तव्य राख्नुभएको थियो । त्यस्तैं, सोही अवसरमा समाजका सल्लाहकार वीरेन्द्र भालुमी साम्पाङले संस्थागत रुपमा किरात भालुमी साम्पाङ राई वंश उत्थान तथा कल्याण समाजको प्रगती तथा आगामी कार्ययोजनाका बारेमा बोल्नुभएको थियो ।

महाधिवेशनमा भारतको सिकिम, दार्जिलिङ, भुटानसहित नेपालको विभिन्न जिल्लाहरुबाट दुई सय बढी भालुमी साम्पाङ राईहरुको भेला भएका छन् । महाधिवेशनको आजै बन्दसत्र सञ्चालन गरिने र नयाँ नेतृत्व निर्वाचित गर्ने छ । भोली (शनिबार) निर्वाचित पदाधिकारीसहित समितिका सदस्यहरुलाई सपथ गराइनुका साथै मनोरञ्जनात्मक कार्यक्रमहरु हुने भएको छ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *