फाइल तस्विरः झापा इनर्जी

पाँचगाछी (बोलोचौक)–झापाको शिवसताक्षी–४ पाँचगाछीस्थित बोलोचोकमा झापा इनर्जीले आठ लाख युनिट विद्युत् उत्पादन गरेको छ । निर्माण सम्पन्न भएपछि सौर्य ऊर्जा उत्पादन थालेको झापा इनर्जीले ३५ दिनको अवधिमा आठ लाख युनिट उत्पादन गरेको हो ।

देशकै ठूलोमध्ये पर्ने र कोशी प्रदेशमै ठूलो सौर्य ऊर्जा परियोजनाको पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माघ २३ गते उद्घाटन गर्ने कार्यक्रम रहेको आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी झापा इनर्जीका सञ्चालक सुवास भट्टराईले जानकारी दिनुभयो ।

परियोजनाबाट उत्पादित विद्युत् मेन ग्रीडमा समेत जडान भइसकेको छ । हालसम्म परियोजनामा करिब ८७ करोड खर्च भइसकेको छ । ऊर्जा उत्पादनतर्फको काम सकेर सौन्दर्यकरणको काम भइरहेको जनाइएको छ ।

सौर्य ऊर्जा उत्पादनसँगै ऊर्जा पर्यटनसँग जोड्ने काम थालिएको झापा क्षेत्र नं ४ सांसद एलपी साँवाले बताउनुभयो । परियोजना र प्राधिकरणबीच २०७८ मंसिर १२ मै विद्युत् खरिद, बिक्री प्रति गर्ने सम्झौता भइसकेको छ भने उत्पादित विद्युत्को मूल्य हाल प्रतियुनिट रू ७.३० कायम रहेको छ ।

मुलुकलाई ऊर्जामा आत्मनिर्भर निजी क्षेत्रको प्रयासका रुपमा शुरु भएको परियोजनाको शिलान्यास २०७८ सालमा संविधान सभाका अध्यक्ष सुवास नेम्वाङले गर्नुभएको थियो ।

नेपाल विद्युत प्राधिकरण दमकका प्रमुख परितोष चौधरीले परियोजनाबाट हाल ६ मेगावाट विद्युत राष्ट्रिय प्रशारण जोडिएको बताउनुभयो । उहाँले जाडो मौसम कम उत्पादन भए पनि मौसम सफा भएपछि १० मेगावाट विद्युत् उत्पादन हुने जानकारी दिनुभयो । विद्युत् उत्पादनसँगै भोल्टेजको समस्या समेत समाधान हुने बताउनुभयो ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *