दमक, २१ माघ–एउटै परिवारका तीन जनामा जटिल रोगले ग्रसित बनेका झापा दमक १० शान्ति टोलका श्रेष्ठ परिवारलाई देश–विदेशमा रहेका मनकारी दाताहरुले आर्थिक सहयोग जुटाइरहेका छन् । जटिल रोगले ग्रसित श्रेष्ठ परिवारको थप उपचारमा आर्थिक समस्या भएपछि स्थानीय सञ्चार माध्यमबाट सार्वजनिक भएको थियो ।
सोही क्रममा अष्ट्रेलिया र अमेरिकामा रहेका नेपालीहरुको अलग अलग समुहले बिरामी श्रेष्ठ परिवारको उपचारका लागि नगद साढे पाँच लाख रुपैयाँ भन्दा बढी आर्थिक सहयोग जुटाइदिएका छन् ।
दमक १० शान्ती टोल निवासी बोनम्यारो पीडित ४८ बर्षिय धनबहादुर श्रेष्ठसहित उनको परिवारका तीन जनामा जटिल रोग देखिएपछि सो परिवारले सहयोगका लागि सार्वजनिक अपिल गरेको थियो ।
श्रेष्ठ परिवार र दमक वडा नम्बर १० का वडाध्यक्ष राजेन्द्र भण्डारीसहित वडा समिति परिवारले गरेको सार्वजनिक अपिलपछि अमेरिकामा बस्दै आएका भगीरथ श्रेष्ठ र शिवराज गौतमको पहलमा उहाँहरुसहित पचहत्तर जना सहयोगी हातहरुबाट तीन लाख ९ हजार ३ सय ५७ रुपैयाँ नगद सहयोग प्राप्त भएको हो ।
त्यसैगरी अष्ट्रेलियामा बस्दै आएका उर्लाबारीका प्रदिप कार्कीको पहलमा त्यहाँ सहयोगी दाताहरुले १ लाख ९२ हजार रुपैयाँ सहयोग रकम पठाएका हुन् ।
प्राप्त सहयोग रकम आज पीडित श्रेष्ठको निवासमानै पुगेर वडाध्यक्ष भण्डारी र कार्कीका बुबा उपेन्द्र कार्कीले संयुक्त रुपमा परिवारलाई हस्तान्तरण गर्नुभएको हो । वडाध्यक्ष भण्डारीले मानवीय सेवामा दाताहरुले देखाउनु भएको सहयोग र सदभावको प्रशंसा गर्दै सबैमा धन्यवाद प्रकट गर्नुभएको छ ।
सो अवसरमा वडा सदस्य रविन्द्र लिम्बु, स्थानीय युवा नविन श्रेष्ठ, नेपाल पत्रकार महासंघ कोशी प्रदेश कोषाध्यक्ष बिमल लामिछाने, प्रदेश समिति सदस्य बिष्णु सुब्बा, नेपाल प्रेस युनियन झापाका अध्यक्ष गिरिराज भट्टराईसहित छरछिमेकी र पीडित परिवारका सदस्यहरु उपस्थित थिए ।
बोनम्यारो पीडित श्रेष्ठको काठमाडौंस्थित सिभिल अस्पतालमा विशेषज्ञ डाक्टर विशेष पौडेलको टिमले उपचार गरिरहेको छ । उनलाई तत्काल १२ हप्ता सम्म चलाउनु पर्ने औषधी दिइएको र सोपछि मात्रै बोनम्यारो प्रत्यारोपणबारे निधो लिने चिकित्सकहरुलाई उदृत गर्दै श्रेष्ठ परिवारले जनाएको छ ।
धनबहादुरका दाजु रामकुमार श्रेष्ठको पनि एउटा मिर्गौला १७ बर्षअघिनै खराब भएर फँयाकिसकिएको छ । रामकुमार अहिले एउटा मिर्गौलाको भरमा मात्रै हुनुहुन्छ । उहाँले शरिरको एउटा अंगनै नभएको अवस्थामा कडा परिश्रम गर्न र जिवनयापनमा निक्कै कठिनाई ब्यहोर्नु परिरहेको बताउनु भयो ।
धनबहादुर र रामबहादुरका ७२ बर्षिय बुबाको पनि विर अस्पताल काठमाडौंमा उपचारपछि घर ल्याइएको छ ।
