दमक, २२ माघ–झापाको दमक नगर कार्यपालिका र दमक नगर इसाई समाजबीच आज (सोमबार) दमकमा संस्थागत भेटघाट तथा अन्तरक्रिया कार्यक्रम भएको छ । दमक नगरपालिकाको सभा हलमा आयोजित भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा नगर कार्यपालिका र इसाई समाजबीच संस्थागत विकास, नगरको विकासमा सहकार्य, सामाजिक, साँस्कृतिक र धार्मीक एकताको बारेमा छलफल भएको थियो ।
त्यस्तैं, भेटघाट तथा अन्तक्रिया कार्यक्रममा नगरभरी छरिएर रहेका इसाई धर्मालम्वीहरुको सामाजिक, धार्मीक, राजनीतिक, आर्थिक, शैक्षिक अधिकारसहित स्थानीय चर्च (मण्डली) का शान्ति–सुरक्षा लगायतका बारेमा नगर कार्यपालिकाको तर्फबाट चासो र चिन्ता व्यक्त गरिएको थियो ।
नगर प्रमुख रामकुमार थापा र नगर उपप्रमुख रेगिना भट्टराई प्रसाईले दमकमा छरिएर रहेका इसाई धर्मालम्वीहरुले दमकको सामाजिक क्षेत्रमा पुर्याएको योगदानको चर्चा गरेका थिए । नगरको विकासमा इसाई समाजसंगको सहकार्य, नगर कार्यपालिकाको कार्यक्रममा इसाई समाजबाट पाएको सकारात्मक साथ र सहयोगको निम्ति नगर प्रमुख थापा र उपप्रमुख प्रसाईले धन्यवाद व्यक्त गरेका थिए ।
सो अवसरमा दमक नगर इसाई समाजले दमक नगर कार्यापालिकालाई समसामयीक विषयहरुप्रति चिन्तासहित माग पत्र राखिएको थियो । सो पत्रलाई दमक नगर इसाई समाजका अध्यक्ष पाष्टर आकाश थुलुङ र समाजका सल्लाहकार समेत रहनुभएका अन्तरधार्मीक शान्ति सञ्जाल झापाका अध्यक्ष पाष्टर राजकुमार नाछिरिङ राईले नगर प्रमुख र उपप्रमुख प्रसाईलाई हस्तान्त्रण गरेका थिए ।
कार्यक्रममा दमक नगर इसाई समाजका अध्यक्ष पाष्टर राईले संस्थागत रुपमा दमकमा बिगतदेखि वर्तमान समयसम्मका विभिन्न समय र सन्दर्भमा भएका कार्यक्रमहरुका बारेमा प्रष्ट पारेका थिए । पाष्टर राईले दमकमा रक्तदान, दमक सरसफाई, दमकको सामुदायीक विद्यालयको शैक्षिक सुधार, प्राकृतिक प्रकोप तथा रोग, संक्रमण र महामारीको समयमा कमजोर अवस्थाका नागरिकलाई खाद्यान्य तथा कपडा वा औषधी उपचारका सहयोग, जेष्ठ नागरिक सम्मान, सडक बालबालिकाहरुप्रति माया र सहयोग लगायतका विषयमा भएका प्रगती विबरणहरु राखेका थिए ।
भेटघाट तथ अन्तरक्रिया कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशाकीय अधिकृत यज्ञराज निरौला, सामाजिक विकास शाखा अधिकृत केशब प्रसाई? दमक नगर इसाई समाज सचिव पाष्टिर अजय पाठक, समाजका सल्लाहकार तथा रेभ एन.डी थुलुङ राई, पाष्टर दावा शेर्पा, समाजका कोषाध्यक्ष दीपेन्द्र नेम्बाङ, सहसचिव सुरज लिम्बु, पाष्टर किशोर सुनुवार, पास्टर अनिष अब्राहम, पास्टर कुमार तामाङ लगायत दमक नगरभरीका चर्च तथा मण्डलीहरुका प्रतिनिधिहरुको उपस्थिति थियो ।
