दमक, २३ माघ–विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी पश्चीम झापाको आयोजनामा वर्तमान राष्ट्रिय संकट र समाधान बिषयक अन्तरक्रिया कार्यक्रम झापाको दमकमा सम्पन्न भएको छ ।
पार्टीका पोलिटब्युरो सदस्य माइला लामाको प्रमुख उपस्थितीमा आयोजित अन्तरक्रियामा पार्टीका मेची कोशी ब्युरो इञ्चार्ज सुमनसिंहद्धारा तयार पारिएको अवधारणा पत्र प्रस्तुत गरिएको थियो ।
सो पार्टीका झापा जिल्ला सञ्जय सीद्धारा प्रस्तुत सो अवधारणा पत्रमाथि टिप्पणी गर्दै पोलिटब्युरो सदस्य माइला लामाले देशका तमाम समस्याको मुल कारण दलाल पँुजीवाद भएको बताउँदै समाजवादी व्यवस्थानै यसको अन्तिम समाधानको बाटो भएको उल्लेख गरे । उनले देशभक्त वामपन्थी शक्तिहरुबीचको ध्रुविकरणले समाजलाई विखण्डनतर्फ उन्मुख गरेका वामपन्थी शक्तिहरुबीचको एकता र सहकार्यमा जोड दिए ।
सशस्त्र जनयुद्धका सहिद डि.कौडिन्यलाई स्मरण गर्दै झापाले पञ्चायत बहुदल जनयुद्ध हुँदै एकीकृत जन क्रान्ति सम्म आइपुग्दा ठुलो योगदान दिएकाले अब समाजवादी व्यवस्था प्राप्तिका लागि पनि झापाले उल्लेखनिय भुमिका निर्वाह गर्ने उनले बताए ।
नेपाली राजनीतिमा आलोचना र संस्लेषण धेरै भएको बताउँदै लामाले अब निकास दिने बाटो खोज्नुपर्ने बताए । यो समाज र देशको हितका लागि लड्ने सबै शक्ति बिच सहकार्य एकता हुने बताउँदै जिम्मेवारी ढंगले राष्ट्रलाई दलालहरुबाट मुक्त गर्ने पार्टीको दायित्व रहेको लामाले बताए ।
लघुवित्त तथा वित्तीय संस्थाको ज्यादतीबाट झापामा पनि थुप्रैले आत्महत्या गर्नुपरेको स्मरण गराउँदै अहिले विश्वमा भइरहेका जुनसुकै युद्धमा नेपालीहरु नै मरिरहेको परिस्थिति देशका लागि दुखद रहेको पनि उल्लेख गरे ।
अब एमाले काङ्ग्रेस माओवादीलाई गाली गलौज गरेर समस्याको समाधान नहुने भन्दै यो विकृतिको जरा सम्म पुगेर यसका कारणहरु पत्ता लगाएर निकास दिन तर्फ लाग्नुपर्ने उनको धारणा थियो ।
साच्चै देश र जनताको हकहितको लागि लागि परेको हो भने, यदी राजनीति देश र जनताको समृद्धिका लागि गरिएको भए गम्भीरतापूर्वक जनता र राष्ट्रप्रति इमानदार भएर समिक्षा गर्नेबेला आएको उनले बताए । उनले भने,–“आज देशमा पाँचलाख बढी घरहरु रित्तो रहेको र लाखौं व्यवसायीहरु पलायन भएको तथा मिटब्याजीहरुका कारण कयौंले आत्महत्या गर्नुपरेको अवस्था छ ।
कार्यक्रममा अवधारणा पत्रमाथि टिप्पणी गर्दै प्राध्यापक राधिका ओझाले मुलुकमा वामपन्थी शक्तिहरुबीचको एकता अपरिहार्य भएको बताइन । कार्यक्रममा अवधारणा पत्रमाथि नेकपा एमालेका केन्द्रिय सदस्य रोमनाथ ओली, नेकपा माओवादी केन्द्र झापाका अध्यक्ष राजु आचार्य, जनता समाजवादी पार्टी झापाका अध्यक्ष दिपेनवाला राई, नेकपा एकीकृत समाजवादीका दमक नगर इञ्चार्ज हरिप्रसाद नेपाल, नेकपा क्रान्तिकारीका केन्द्रिय सदस्य बिमल, लिम्बुवान परिषद केन्द्रिय उपमहासचिव धनराज सुब्बा लगायतले बहस गरेका थिए ।
