दमक, २३ माघ–नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं पूर्व मन्त्री केशवकुमार बुढाथोकीको निधन भएको छ । झापा शनिश्चरेका स्थायीबासिन्दा नेता बुढाथोकी केही समय यता अस्वस्थ भई बिराटनगरमा उपचाररत हुनुहुन्थ्यो । बुढाथोकीको गएराती साढे ११ बजे बिराट मेडिकल कलेज विराटनगरमा निधन भएको कांग्रेस नेताहरुले जनाएका छन ।

पञ्चायतदेखि संविधानसभा हुँदै मन्त्रीसम्म
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको गठबन्धन सरकारमा सामान्य प्रशासन मन्त्री बनेका केशवकुमार बुढाथोकी झापा क्षेत्र नं ५ बाट सांसद संविधान सभामा दुई पटक निर्वाचित भएका थिए । उनी ७ बर्ष अघि सामान्य प्रशासन मन्त्री बनेका थिए ।

बुढाथोकीको राजनीतिक यात्रा झण्डै पाँच दशक अघि शुरु भएको हो । २०२४ सालमा, विद्यार्थी आन्दोलन मार्फत राजनीतिमा प्रवेश गरेका उनी विद्यार्थी आन्दोलनका क्रममा आफ्ना दाइ, मामाहरू निर्वासनमा गएपछि त्यसबाट प्रेरित भई प्रजातान्त्रिक आन्दोलनमा लागेको बताउने गरेका थिए ।
सो क्रममा उनले नौ महिना जेल जीवन बिताए ।

पञ्चायतमा लागेर युवक संगठनको झापा जिल्ला सभापति हुँदै राष्ट्रिय पञ्चायतमा समेत विजयी बुढाथोकीलाई बहुदलको वकालत गरेको कारण राजा वीरेन्द्रले राष्ट्रिय पञ्चायत सदस्यबाट निष्कासित गरेका थिए । बुढाथोकीले जिल्ला पञ्चायत झापाको सभापतिको जिम्मेवारी समेत सम्हालि सकेका छन् ।

२०५१ को संसदीय निर्वाचनमा झापा क्षेत्र नं ५ बाट नेपाली कांग्रेसका उम्मेदवार बुढाथोकीले पहिलो र दोश्रो संविधानसभाको निर्वाचनमा भने झापा क्षेत्र नं ५ बाट बिजयी हाँसिल गरे । उनले २०६४ मा माओवादीका हर्क खडकालाई र एमालेका लालप्रसाद साँवालाई हराएर संविधान सभामा निर्वाचन जितेका थिए ।

भारत, दार्जीलिङ्मा अध्ययन गरेका बुढाथोकीका दुई छोरा र दुई छोरी छन् । निडर र हक्की स्वभावका बुढाथोकी गत साउनमा बसेको नेपाली कांग्रेस केन्द्रिय समितिको बैठकमा कडा रुपमा प्रस्तुत भएर कांग्रेस भित्र थप चर्चामा आएका थिए ।

बुढाथोकीको जन्म शनिश्चरे २ झापामा बिसं २००१ असोजमा भएको हो । बुढाथोकी २०४१ सालमा राष्ट्रिय पञ्चायतको सदस्य पनि रहेका थिए । नेपाली कांग्रेस जिल्ला कार्यसमिति झापाका सदस्य, सगरमाथा अञ्चलको संयोजक समेत भइसकेका उनी गत बर्ष भएको कांग्रेसको १४ औं महाधिवेशनबमा केन्द्रिय सदस्य निर्वाचित भएका थिए ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *