काठमाडौँ, २५ माघ–एक दिवसीय क्रिकेटमा नेपालले क्यानडामाथि ७ रनको रोमाञ्चक जित हात पारेको छ ।
जितका लागि २२५ रनको लक्ष्य पछ्याएको क्यानडाले ४७.५ ओभरमा २१७ रनमा अल आउट भयो । नेपाललाई जिताउन रोहितकुमार पौडेलले ४ विकेट लिए । क्यानडाका निकोलश किर्टोन र पारगत सिंहले अर्धशतकीय पारी खेले पनि टिमलाई जिताउन सकिनन्।
किर्टोन ६८ रन बनाउँदै १९५ रनको स्थितिमा आउट भएपछि खेलमा नेपालको आशा फर्केको थियो। त्यसअघि सिंह ५० रनमा आउट भएका थिए।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा अल आउट हुँदै २२४ रन बनाएको थियो।
नेपालका लागि ओपनर कुशल भुर्तेलले ६२ रन बनाए । ५८ बल खेलेका उनले ९ चौका र १ छक्का हानेका थिए। आरिफ शेखले ३८ रन बनाए।
सोमपाल कामी २७ रनमा आउट भए । क्यानडाका उदय भागवानले ३ तथा इश्वरजित सोही र साद बिन जाफरले समान २ विकेट लिए।
