विराटनगर, २६ माघ–नेकपा (एकीकृत समाजवादी) का संसदीय दलका नेता एवम् पूर्वमुख्यमन्त्री राजेन्द्रकुमार राईले सरकार विस्तार गर्दा मुख्यमन्त्री केदार कार्कीले गठबन्धनमा भएको सहमति उल्लंघन गरेको आरोप लगाएका छन्।
कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले आज ९शुक्रवार० सरकार विस्तार गरेका हुन्। मन्त्रिपरिषद विस्तारका क्रममा मुख्यमन्त्रीले गठबन्धनभित्र भएको सहमति उल्लघन गरेको आरोप लगाउँदै उनले भने‚ ‘यो गलत छ।’
मुख्यमन्त्री कार्कीले सहमति उल्लंघन गरेकाले आफू शपथग्रहण कार्यक्रममा उपस्थित नभएको उनले बताए। मुख्यमन्त्री कार्कीले गठबन्धन दलका नेताहरुलाई सुविधा दिने र जिससको अधिकार खोस्नेगरी ल्याएको अध्यादेशको पनि पूर्वमुख्यमन्त्री राईले असन्तुष्टि व्यक्त गरेका छन्।
अध्यादेश पनि विना सल्लाह ल्याएर मुख्यमन्त्रीले गठबन्धनको मर्मविपरीत काम गरेको बताउँदै उनले यो गल्ती तुरुन्तै सच्चाउन आग्रहसमेत गरेका छन्।
गल्ती नसच्याए विकल्प खोज्न तयार रहेको चेतावनी दिँदै उनले एउटा मन्त्रीका लागि एकीकृत समाजवादी सरकारमा टाँसिइरहनुपर्ने कुनै आवश्यकता नरहेको बताए।
मुख्यमन्त्री कार्कीले विस्तार गरेपछि मन्त्रिपरिषदमा कांग्रेसबाट मुख्यमन्त्रीसहित ३ मन्त्री र २ राज्यमन्त्री, माओवादीबाट ३ मन्त्री र एकीकृत समाजवादीबाट एकजना मन्त्री भएका छन्। गठबन्धनकै जसपा भने सरकारमा जाने कुनै टुंगो छैन।
आज भएको विस्तारमा भने कांग्रेसका ४ जना र माओवादीका २ जनासहित ६ जना नयाँ मन्त्री थपिएका छन् तर एकीकृत समाजवादीलाई मुख्यमन्त्री कार्कीले समेटेका छैनन्।
