भद्रपुर, २६ माघ–झापामा जंगली हात्तीको आक्रमणबाट जनधनको क्षति व्यहोरेका हात्तीपीडित यतिबेला राहतको पर्खामा छन् । चालू आर्थिक वर्ष २०८०/०८१ को साउनयता जिल्लाका विभिन्न स्थान र समयमा हात्तीको आक्रमणमा परी जनधनको क्षति व्यहोरेका ३२१ परिवार सरकारी राहतको पर्खाइमा रहेका हुन् ।
चालू आवको गत कात्तिक २ गतेसम्म तीन सय २१ हात्तीपीडित परिवारलाई रू ५८ लाख २८ हजार नौ सय ४० राहत रकम माग गरी मन्त्रालयमा पठाइएको डिभिजन वन कार्यालयका झापाका वन अधिकृत ऋषिराम पराजुलीले जानकारी दिनुभयो ।
राहत माग गरिएकोमा एक जना मृतकको रू १० लाख, तीन जना घाइतेका लागि रू पाँच लाख ८० हजार नौ सय ४०, चौपाया एक बराबर रू १० हजार, विभिन्न घरगोठमा पुर्याएको क्षतिको पूर्तिका लागि रू १४ लाख ८२ हजार पाँच सय, भण्डारण गरिएको अन्न क्षति बराबर रू छ लाख ३९ हजार छ सय र बालीनालीमा हात्तीले गरेको क्षति बराबर रू २१ लाख १५ हजार नौ सय रहेको छ ।
त्यस्तै, कात्तिक २ गतेयता हात्तीको आक्रमणबाट मृत्यु भएका चारसहित १९४ परिवारलाई राहत माग गर्न विवरण संकलन भई प्रक्रियामा रहेको डिभिजन वन कार्यालय झापाले जनाएको छ ।
जसमा मृतक चार जनाको रू ४० लाख, घाइते तीन जनाका लागि रू दुई लाख ७० हजार नौ सय ५२, घरगोठका क्षति पुगेकाहरुका लागि रू पाँच लाख ६४ हजार पाँच सय, भण्डारण गरिएको अन्न रू दुई लाख ५२ हजार सात सय र बालीनाली रू १३ लाख ८७ हजार नौ सय गरी रू ६४ लाख ७६ हजार ५२ राहत मागका लागि फाइल तयार गरिएको छ ।
हात्तीपीडितका लागि माग गरिएको राहत रकम आउन ढिलो हुँदा समस्या भएको छ । पीडितले राहत आयो भनेर प्रश्न गर्दा ? समस्या हुने गरेको कार्यालयका कर्मचारी बताउँछन् ।

