बिर्तामोड, २८ माघ–नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री केशवकुमार बुढाथोकीको सातौं पुण्य तिथिको अवसर पारेर श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । नेपाली कांग्रेस झापाको आयोजनामा बुढाथोकी निवासमा आयोजित श्रद्धाञ्जलीसभामा पार्टी सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले परिवारलाई समवेदना पत्र हस्तान्तरण गर्नुभयो ।

श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै सभापति देउवाले बुढाथोकीको निधनले पार्टी र राष्ट्रलाई नै अपुरणीय क्षति पुगेको बताउँदै विकास निर्माण, संगठन विस्तार, लोकतान्त्रिक आन्दोलन एवं संविधानसभा सदस्य रहेर संविधान निर्माणमा खेलेको भुमिका सदास्मरणीय रहने बताउनुभयो । सभापति देउवाले पार्टी केन्द्रीय समितिले तयार पारेको समवेदना पत्र परिवारका सदस्यलाई हस्तान्तरण गर्नुभएको थियो ।

श्रद्धाञ्जलीसभामा नेपाली कांग्रेस कोशी प्रदेश समिति, नेपाली कांग्रेस झापा जिल्ला समिति, नेपाल महिला संघ, नेपाल शिक्षक संघ, नेपाल दलित संघ, नेपाल कर्मचारी युनियन संघ, नेपाली कांग्रेस २ नम्बर क्षेत्रीय समिति, ४ नम्बर क्षेत्रीय समिति, अर्जुनधारा नगर समिति, शिवसताक्षी नगर समिति, विभिन्न भातृ तथा शुभेच्छुक संघसंस्थालगायत तीनदर्जन बढी समवेदनापत्र कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की, नेपाली कांग्रेस कोशी प्रदेश सभापति उद्वव थापा, नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवे, अर्जुनधारा नगर सभापति हेमराज खरेल लगायतले संयुक्त रुपमा हस्तान्तरण गर्नुभएको थियो ।

नेपाली कांग्रेस झापा सभापति देउकुमार थेवेको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन नेपाली कांग्रेस झापाका सचिव कृष्ण हुमागाइले गर्नुभएको थियो भने परिवारका तर्फबाट बुढाथोकीका भाइ सुदर्शन बुढाथोकीले उपस्थित सबैमा धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

श्रद्धाञ्जली सभामा अर्थमन्त्री प्रकाशशरण महत, पूर्व महामन्त्री एवं पूर्व उपप्रधानमन्त्री कृष्णप्रसाद सिटौला, पार्टीका सहमहामन्त्री भीष्मराज आङदेम्बे, केन्द्रीय सदस्यहरु राजीव ढुङ्गाना, महेन्द्राकुमारी सुब्बा, सुशिला ढकाल आचार्य, गोमा भट्टराई, कोशी प्रदेशका मुख्यमन्त्री उद्वव थापा, नेपाली कांग्रेस कोशी प्रदेश सभापति उद्वव थापा, प्रदेश सदस्यहरु, नेपाली कांग्रेस झापाका पदाधिकारी÷सदस्य, छिमेकी जिल्लाका सभापतिहरु, नेपाली कांग्रेसका विभिन्न तहगत सगठन एवं भातृ तथा शुभेच्छुक संघसंस्थाका अध्यक्ष एवं प्रतिनिधिहरु, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, विभिन्न सामाजिक संघसंस्थाका अगुवाहरुको ब्यापक उपस्थिति रहेको नेपाली कांग्रेस झापाका सचिव नवीन विमलीले जानकारी दिनुभयो ।

श्रद्धाञ्जलीसभामा शोकसमवेदना ब्यक्त गर्न उपस्थित महानुभावले केशवकुमार बुढाथोकीको ब्यक्तित्व, नेतृत्व र सांसद, मन्त्री एवं पार्टी संगठनको विभिन्न पदीय जिम्मेवारीमा रहँदा गर्नुभएको योगदानको चर्चा गर्दै उहाँको स्मरण गरेका थिए ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *