बिराटनगर, २८ माघ–नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ कोशी प्रदेशको अध्यक्षमा झापाका जीवनप्रसाद नेपाल निर्वाचित भएका छन् ।
महासंघको पाँचौं वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनले नेपाल आगामी दुई वर्षका लागि अध्यक्ष पदमा निर्वाचित भएका हुन् । विराटनगरमा भएको अधिवेशनले महासंघको वरिष्ठ उपाध्यक्षमा मोरङका माधव अधिकारी र उपाध्यक्षद्वयमा उदयपुरका घनश्याम पोखरेल र सुनसरीका शिवप्रसाद चौलागाईंलाई निर्विरोध निर्वाचित गरेको छ ।
यस्तै, मोरङका दिवाकर भट्टराई सचिव र मोरङका गौतम शर्मा कोषाध्यक्ष पदमा निर्वाचित भएका छन् । यस्तै, झापाका टंकप्रसाद भट्टराई सहसचिव पदमा निर्वाचित भएको निर्वाचन समितिका संयोजक मातृकाप्रसाद शिवाकोटीले जानकारी दिए ।
त्यस्तै, सदस्यमा मोरङबाट नवीन रेग्मी, यतिराज पोखरेल, माधव बराल, परमानन्द सिंह, चुनामणि घिमिरे, जीवन लुइँटेल र हेमा कुमारी घिमिरे निर्वाचित भएका छन् । सुनसरीबाट प्रदेश सदस्यमा जीवन लुइँटेल, अनिल जोशी, मनोज कुमार यादव निर्वाचित भएका छन् । ताप्लेजुङबाट भूमादेवी पोखरेल र धनकुटाबाट युवराज निरौला निर्वाचित भएका छन् ।
उद्घाटन कार्यक्रमलाई प्रदेश प्रमुख परशुराम खापुङले सरस्वतीको प्रतिमामा माल्यार्पण गर्दै दीप प्रज्वलन गरेर उद्घाटन गरेका थिए । अधिवेशनको उद्घाटन गर्दे उनले कोशी प्रदेश पुस्तक तथा स्टेसनरी व्यवसायीको पक्षमा रहेको बताए । विद्यालय तहका शैक्षिक सामग्रीको अबैध बिक्री वितरणमा पूर्णतः प्रतिबन्ध लगाउन प्रदेश सरकार तयार रहेको उनको भनाइ थियो ।
सोही कार्यक्रममा ०२२ सालदेखि नियमित पुस्तक तथा स्टेशनरी व्यवसाय गर्दै आएका झापा गौरीगञ्जका रुपक श्रेष्ठलाई सम्मान गरिएको छ । उनलाई सम्मान पत्रसहित प्रदेश प्रमुख खापुङले माला र दोसल्ला ओढाएर सम्मान गरेका हुन् ।
कार्यक्रममा बिराटनगर महानगरपालिकाका प्रमुख नागेस कोइराला, नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघका केन्द्रीय निवर्तमान अध्यक्ष मनहरी वस्याल, वरिष्ठ उपाध्यक्ष दीवाकर घिमिरे, केन्द्रिय महासचिव शिवहरी शर्मा, सचिव विष्णु पौडेल, पुर्व उपाध्यक्ष ऋषीराम शर्मा र मात्रिका सिवाकोटी लगायतले आ-आफ्ना धारणा राखेका थिए ।
सचिव माधव अधिकारीले महासंघको सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष गौतम शर्माले आर्थित प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रम महासंघका प्रदेश अध्यक्ष रञ्जन शर्माको अध्यक्षतामा भएको थियो ।
