बिर्तामोड, ३ फागुन–झापामा नागरिक उन्मुक्ति पार्टीले स्थापना दिवस मनाएको छ । जिल्लाका विभिन्न स्थानमा विविध कार्यक्रमका साथ दोस्रो स्थापना दिवस मनाइएको हो । यसैबीच, पार्टीका प्रदेश नं १ अध्यक्ष धनबहादुर पङ्धाकको अगुवाइमा झापाको बिर्तामोडमा आज बेलुका दीप प्रज्वलन गरिएको छ ।
पार्टीलाई सशक्त र संगठित बनाउने शुभेच्छासहित दीप प्रज्वलन गरिएको पङ्धाकले बताउनुभयो । दीप प्रज्वलनसहित ‘नागरिक उन्मुक्ति पार्टी जिन्दावाद’ लगायतका नारा लगाइएको थियो ।
कार्यक्रममा केन्द्रीय पदाधिकारी सचिवालय सदस्य त्रिनारायण राजवंशी, केन्द्रिय सदस्य दुर्गादेवि लिम्बु, प्रदेश सचिव पदम चेन्जी माबो, प्रदेश सदस्य चन्द्रमाया लिम्बू, महाधिवेशन प्रतिनिधि श्याम राजवंशी (तेजनारायण), महाधिवेशन प्रतिनिधि विशाल साँबा लिम्बूलगायत नेता कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको थियो ।
पुष २६ देखि २८ गतेसम्म कैलालीको टिकापुरमा भएको पार्टीको पहिलो महाधिवेशनबाट रेशमलाल चौधरी अध्यक्ष बनेका छन् । चौधरी जेलमै छँदा आफु संरक्षक र श्रीमती रञ्जिता श्रेष्ठलाई अध्यक्ष बनाएर पार्टी गठन गरेका थिए ।
