काठमाडौँ, २६ बैशाख–नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को स्थायी कमिटी बैठक यही वैशाख २९ गते हुने भएको छ।

बैठकमा आसन्न महाधिवेशनमा प्रस्तुत गरिने राजनीतिक दस्तावेज, विधान दस्तावेज, समाजवादी कार्यक्रमसम्बन्धी दस्तावेज र साङ्गठनिक दस्तावेजमा छलफल गरिने उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिनुभयो।

स्थायी समितिका निर्णयमा थप छलफल गर्न वैशाख ३० गते पोलिटब्युरो बैठक बोलाइएको छ। दुब कमिटीबाट आएका सुझाव सङ्कलन गरेर केन्द्रीय कमिटी बैठकमा पेस गरी साझा धारणा बनाउन लागिएको प्रचार विभाग प्रमुख खतिवडाले जानकारी दिनुभयो।

बैठकले प्रदेश, क्षेत्र र भूगोलको सन्तुलन मिलाएर प्रतिनिधि छनोटका कार्यविधिबारे, सङ्गठन विस्तार तथा पार्टी आधारभूत तहसम्म स्थापित गर्न आवश्यक कार्ययोजनाबारे छलफल गर्ने जनाइएको छ।

प्रचार विभाग प्रमुख खतिवडाका अनुसार देशभर साङ्गठनिक अवस्था, जनवर्गीय सङ्गठनको कार्य प्रगतिको समीक्षा गरिने बैठकमा सुशासन, जनजीविका, समसामयिक राजनीतिक विषयमा छलफल गरिने छ।

पछिल्लो राजनीतिक अवस्था, उपनिर्वाचनको समीक्षासमेत हुने बैठकमा समान विचार राख्ने राजनितिक दल, सङ्घसस्था तथा समूहसँग भएका कार्यगत एकताबारे जानकारी गराइनेछ। आगामी असार १६ देखि २० गतेसम्म काठमाडौँमा पार्टीको दशौँ राष्ट्रिय महाधिवेशन हुँदैछ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *