दमक ,१२ भदौ–झापाको दमकमा जारी निषेधज्ञालाई फेरि एक साता थप गरिएको छ । आज नगरपालिकामा बसेको कोरोना रोकथाम तथा नियन्त्रण समन्वय समितिको बैठकले गत साउन ३२ गतेदेखि जारी रहेको निषेधज्ञालाई केहि खुकलो वनाउदै भदौ २० गते सम्म लम्ब्याउने निर्णय गरिएको नगरपालिकाले जनाएको छ ।
निषेधज्ञा जारी गर्न जिल्ला प्रशासन कार्यालयमा सिफारिस गर्ने निर्णय भएको नगर उपप्रमुख समेत रहनुभएका प्रवक्ता गीता अधिकारीले वताईन् । त्यस अवधिमा अत्यावश्यक सेवा बाहेक दैनिक उपभोग्य सामाग्री खरिद ,विक्रीका लागि दैनिक विहान ७ वजेदेखि १२ वजेसम्म पसल तथा व्यवसाय स्वास्थ्य सुरक्षा पालना गरि सञ्चालन गराउन पाउने निर्णय गरिएको छ ।
त्यस्तै, दमक ६ स्थित नयाँ सव्जी वजार पूर्ण रुपमा रोक लगाईएको छ भने दैनिक उपभोग्यबाहेकका अन्य पसल भने सञ्चालन गर्न नपाउने उल्लेख छ । दमकमा दुई साता देखि संक्रमण तीव्र फैलिएपछि निषेधज्ञा लगाईएको छ ।
२१४० जनाको पिसिआर परीक्षण
हालसम्म दमकमा ६१२ महिला र १५२८ पुरुष गरि कुल २१४० जनाको पिसिआर परीक्षण गरिएको छ । परीक्षण मध्ये ८१ जनामा संक्रमण देखिएको र ४१ जना भने उपचार पछि निको भएर घर फर्किएका छन् ।
यस्तै, आज होटल क्वारेन्टाइनमा १३ र विज्ञान भवन पार्क महिला क्वारेन्टाइनमा ५ जना रहेका छन् भने दमकको दाहाल प्रतिष्ठानको आइसोलेसनमा १०, होम आइसोलेसनमा १२, गोठगाँउको पूर्वाञ्चल विश्व विद्यालयको कोभिड अस्पतालमा ५ ,विराटनगरस्थित एसियाटिक होटल आइसोलेसनमा ६ जना, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा २ र मेची अस्पताल भद्रपुरमा ५ जना गरि ४० जना उपचाररत रहेका छन् ।
यसैगरि, भदौ ९ गते २ सय जनाको पिसिआर परीक्षण धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा पठाएको मध्ये १७६ जनाको रिपोर्ट नेगेटिभ आएको उल्लेख छ ।
नगरपालिकाका अनुसार आज नै दमकको नविल बैकले २ सय थान र राधा माधव सेवा समितिले समेत २ सय थान भिटिएम किट उपलव्ध गराएको प्रवक्ता अधिकारीले जानकारी दिईन् ।

