दमक, १० जेठ–किराँत राई यायोक्खा दमक नगर समितिले आज दमकमा वैशाखे पूर्णिमाको अवसर पारेर साकेला उभौली पर्व मनाएको छ ।

दमक–१ बुद्ध चोकस्थित साकेला थान (मन्दिर) मा साकेला शिलि प्रर्दशनसहित छेलो हान्ने र शुभकामना आदन–प्रदान कार्यक्रम गरि उभौली पर्व मनाइएको हो ।

सोही कार्यक्रमबीच यायोक्खा साकेला थान प्रवेशद्धारमा गेट र साकेला थान परिसरभित्र फलैचा (धर्मशाला) को समेत उद्घाटन गरिएको छ । स्वर्गीय माया लिम्बू देवानको स्मृतिमा उनका पति गजेन्द्र (गजु) देवानले सो गेट निर्माण गरिदिनुभएको हो । गेटसहित चेन (फलामे) जालीको ढोका रहेको गेट निर्माणमा चार लाख बराबर खर्च भएको छ ।

दमक १ निवासी देवान नेपाली कांग्रेस वडा सभापति, दमक खानेपानी तथा सरसफाई उपभोत्ता समितिका कार्यसमिति सदस्य हुनुहुन्छ । लामो समय व्यवसायीक खेलाडी जीवन बिताइसक्नुभएका देवान हाल खेलकुद क्षेत्रसंग विभिन्न संघसंस्थाहरुमा सक्रिय हुनुहुन्छ ।

त्यस्तैं, स्वर्गीय सरुमाया राईको स्मृतिमा उनका परिवारले अढाई लाख बढी खर्च गरेर फलैचा (फलैचा) निर्माण गरिदिनुभएको छ । स्वर्गीय सरुमायाका भाई यायोक्खा दमक नगर समितिका सदस्य एम.एस साङपाङ राईका अनुसार आफ्नी दिदी (नाना) को स्मृतिमा भेना भक्तबहादुर राईसहित भान्जा–भान्जीहरुले सो फलैचा निर्माण गरिदिएका हुन् ।

यायोक्खा दमक नगर समिति अध्यक्ष बासुदेब राईको अध्यक्षतामा र कोशी प्रदेश समितिका अध्यक्ष पारषमणी राईको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । सो कार्यक्रममा दमकका शैक्षिक व्याक्तित्व मनोज साङपाङ राई, एलडी राई, नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सुमित्रा बाङदेल लगायतको उपस्थिति थियो ।

कार्यक्रममा पुरुषहरुबीच खुल्ला छेलो प्रतियोगिता समेत भएको थियो । सो प्रतियोगितामा ५० जना युवाले सहभागिता जनाएका थिए । कार्यक्रममा किराँत राई साँस्कृतिक कलाकार संघ र किराँत राई विद्यार्थीहरुले साकेला शिली (नृत्य) प्रस्तुत गरेका थिए ।

सो कार्यक्रममा किराँत याक्थुम चुम्लुङ दमक नगर समिति अध्यक्ष देबेन्द्र चेम्जोङले शुभकामना मन्तव्य राखेका थिए । वहाँले साकेला उभौली पर्वलाई पहिचान मागसहितको राजनीतिक आन्दोलनको रुपमा मनाउनु पर्नेमा जोड दिएका थिए ।

किराँत राई यायोक्खा दमक सचिव ज्ञानेन्द्र राईको सञ्चालनमा भएको कार्यक्रमलाई उपाध्यक्ष अमला चाम्लिङ राईले स्वागत मन्तव्य राख्नुभएको थियो ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *