सुनसरी, १० जेठ–सत्तारुढ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक क्षणिक स्वार्थ र लाभका लागि गर्नु नहुने बताएका छन् । आज (बिहीबार) सुनसरीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजनीति देश, जनता र सत्य स्थापनाका लागि हुनुपर्ने बताए ।

उनले नेपाली कांग्रेसले संसदमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगीको आरोप लगाउँदै संसद अवरुद्ध गरिरहेको र एउटा पात्रकाविरुद्ध खनिएको भन्दै आपत्ति जनाएका छन् । कांग्रेस जस्तो पार्टी रवि लामिछानेविरुद्धमा खनिनु भनेको भँगेरा मार्न तोप बोकेर जानु सरह भएको उनको टिप्पणी थियो ।

उनले भने, ‘कांग्रेस जस्तो पार्टी रवि लामिछानेविरुद्ध खनिएको छ । के खनिनु । भँगेरा मार्न जाने तोप बोकेर । बल्लबल्ल राजनीतिमा आएको, एक वर्ष भयो । खैर अहिलेको उपप्रधानमन्त्री हुनुहुन्छ उहाँ, म सम्मान गर्दछु उहाँलाई उपप्रधानमन्त्रीको हैसियतले । तर, नेपाली कांग्रेसले दुईतिरबाट अर्घेल्याई गरेको छ । एउटा बेलुका गएर तपाईं डेढ वर्ष प्रधानमन्त्री पहिलो प्रधानमन्त्री तपाईं खानुस् भन्ने । उसले त्यो कागजमा सही नगरेपछि भोलिपल्ट सहकारीको ठग भन्ने । यो त सत्य हो नि त । यस्तो गर्नु हुँदैन । रातिसम्म प्रधानमन्त्रीका लागि ठिक, म यता लाग्न सक्दिनँ भनेपछि त्यसो भए तँ सहकारीको ठग । अलि मिलेन ।’

अध्यक्ष ओलीले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई नागरिकताको विषयमा छानबिन गर्न पक्राउ गरिएको बताएका छन् । उनले सिरोहिया पक्राउ पर्दा कसरी प्रेस स्वतन्त्रतामाथिको हमला भयो रु भन्दै प्रश्न समेत गरेका छन् । नागरिकताको कुरालाई प्रेस स्वतन्त्रतामाथिको हमलाका रुपमा बुझ्न नहुने उनको भनाइ थियो ।

अध्यक्ष ओलीले सांसद डा। सुनिल शर्मा र कांग्रेस नेता एवं पूर्व गृहमन्त्री बालकृष्ण खाँण पक्राउ पर्दा चुइँक्क नबोलेको भन्दै अहिले आएर रवैया देखाउनु अशोभनीय रहेको बताए । न्यायको अगाडि सबै बराबर रहेको उनको भनाइ थियो ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *