काठमाडौँ, १८ जेठ–नेकपा (एकीकृत समाजवादी) का पोलिटब्यूरो सदस्य देवशङ्कर पौडलको ‘लिखु आत्मसर्पण’ नामक पुस्तक विमोचन गरिएको छ।
शुक्रबार पार्टी अध्यक्ष माधवकुमार नेपालले उक्त पुस्तक विमोचन गर्नु भएको हो। नेकपा (एकीकृत समाजवादी) रामेछाप(काठमाडौँ सम्पर्क मञ्चले आयोजना गरेको पुस्तक विमोचन कार्यक्रममा पार्टीका विभिन्न तहमा रहेका नेताहरूको उपस्थिति रहेको थियो।
नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालय आलोकनगरमा सम्पन्न पुस्तक विमोचन कार्यक्रम अध्यक्ष नेपालले समसामयिक राजनीतिक घटनाक्रमबारे स्पष्ट पार्नु भएको थियो।
राजनीति सहज बनाउन नेपाल र नेपाली जनतालाई केन्द्रविन्दुमा राख्नुपर्नेमा अहिलेका नेता र कार्यकर्ताहरू भ्रष्टाचारको चंगुलमा फस्दै गएको अध्यक्ष नेपालको भनाइ छ।
अध्यक्ष नेपालले भन्नुभयो,‘अहिलेको चुनौती भनेको नेपाली समाजलाई भ्रष्टीकरणबाट मुक्त गर्नु हो। राजनीतिक दलका नेता र कार्यकर्ता भ्रष्टीकरणबाट बाहिर ननिस्किए राजनीति सहज ढंगले अघि बढ्न सक्दैन ।’
उहाँले सबैले किताब पढ्ने बानी बसाल्नुपर्ने पनि बताए । आफू जेलमा रहँदा अधिकांश समय किताब पढेर समय बिताउने गरेको स्मरण गर्दै अध्यक्ष नेपालले भने,‘अहिले किताब पढ्ने समय नै मिल्दैन । कहीँ गयो कि कार्यकर्ताले घेरी हाल्छन्। थुनामा हुँदा धेरै किब पढियो।’
