काठमाडौँ, २१ जेठ—नेकपा (एकीकृत समाजवादी) ले केन्द्रीय समीकरण अनुसार मधेश सरकार निर्माणका लागि प्याकेजमै सहमति हुनुपर्ने अडान लिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाललाई मनाउन कसरत गरिरहेका छन् । तर मधेशसहित सुदूरपश्चिम, कर्णाली र कोशी प्रदेशमा समेत प्याकेजमै सहमति गर्नुपर्ने अडान राखेपछि नेपाललाई मनाउन धौधौ परेको छ ।

राजनीतिक नियुक्ति, प्रदेश सरकार निर्माणलगायत अन्य क्षेत्रमा ओली र दाहालले मनमौजी गरेको भन्दै नेपालले सार्वजनिक रुपमा असन्तुष्टि जनाउँदै आएका छन् । संघ र प्रदेशमा सम्मानजनक सहकार्य गर्न बेवास्ता गरेको भन्दै नेपालले सकेसम्म यही समीकरणमा प्रधानमन्त्री, त्यो सम्भव नभए महत्वपूर्ण भूमिका खोजेका छन् ।

मधेशमा जसपा नेपाल नेतृत्वको सरकारलाई विस्थापित गरी जनमतको नेतृत्वमा बहुमतको सरकार बनाउन नेकपा एस निर्णायक छ । सुदूर पश्चिम प्रदेशमा नेकपा एसका दीर्घ सोडारी मुख्यमन्त्री भएपनि एमाले र माओवादी सरकारमा सहभागी भएका छैनन् ।

सुदूरपश्चिम मन्त्रिपरिषद् विस्तार हुन नसक्दा सरकारले काम गर्न सकेको छैन । त्यस्तै कर्णालीमा यामलाल कँडेल र कोशीमा हिक्मत कार्की मुख्यमन्त्री भए पनि नेकपा एसलाई सहभागी गराइएको छैन ।

मधेशमा हाल जसपाका सरोजकुमार यादव नेतृत्वको सरकारमा नेकपा एस पनि सामेल छ । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले कांग्रेस सभापति शेरबहादुर देउवा र एसका अध्यक्ष नेपाललाई मधेश सरकारलाई समर्थन गर्न आग्रह गरिसकेका छन् ।

यसअघि, नेकपा एस अध्यक्ष नेपालले सत्ता समीकरणका प्रमुख नेता दाहाल र ओलीले सम्मानजनक सहकार्य नगरे जसपा नेतृत्वको मधेश सरकारलाई समर्थन गर्ने संकेत गरेका थिए । मुख्यमन्त्री सरोजकुमार यादवले बुधबार विश्वासको मत लिने कार्यतालिका छ।

ओली, दाहाल र नेपालबीच भएको छलफलमा नेकपा एसले जनमतको सरकारलाई समर्थन गर्न आपत्ति नभएको तर अरु प्रदेशमा सम्मानजक सहभागिताबारे छलफल भएको छ । प्रधानमन्त्री सचिवालयका अनुसार केन्द्र र प्रदेशमा एउटै समीकरण हुने पक्षमा भए पनि नेपालले सुदूरपश्चिममा आफ्नो दलको सरकारलाई पूर्णता नदिएको र अरु प्रदेशमा सहभागी गराउन बेवास्ता गरेको विषयमा गुनासो गरेका छन् ।

ओली र दाहालले केन्द्र र प्रदेशको समीकरण बलियो बनाउनु पर्ने उल्लेख गर्दै मधेश सरकारबारे तत्काल निर्णय आवश्यक भएकाले समर्थन गर्न नेपाललाई आग्रह गरेका थिए ।

एमाले र माओवादी केन्द्रले जनमत पार्टीलाई समीकरणमा समेट्न मधेश सरकारको नेतृत्व जनमतलाई दिने समझदारी गरिसकेका छन् । त्यही समझदारी अनुसार जनमतको नेतृत्वमा बहुमतको सरकार बन्न नेकपा एस निर्णायक छ ।

नेकपा एसका उपाध्यक्ष बेदुराम भुसालले समीकरणमा रहेका दलहरुबीच स्वस्थ सहकार्यको आवश्यकता भएकाले मधेश सरकार र अरु प्रदेशको प्याकेजमै सहमति हुनुपर्नेबारे छलफल भएको बताए । ‘सुदूरपश्चिम सरकारलाई पूर्णता दिने, मधेशमा नयाँ सरकार बनाउने, कोशी र कर्णालीमा हाम्रो सहभागिता हुने गरी सहमतिको प्रयास भइरहेको छ’ उनले भने, ‘केन्द्र र प्रदेशमा एउटै समीकरणका सरकार बनाउनु राम्रो हुन्छ । त्यही अनुसार कुरा भइरहको छ ।’

प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोबिन्द आचार्यले केन्द्रीय समीकरण अनुसार मधेश सरकार बनाउन नेकपा एसका अध्यक्ष नेपालको असमति नभएको बताए । ‘केन्द्रीय समीकरण अनुसार मधेश सरकार बनाउन तीन नेता ९ओली, दाहाल र नेपाल० बीच समझदारी छ’ उनले भने, ‘मधेशमा समीकरण बाहिरको सरकार बनाउने कल्पना बाहिरको कुरा हो ।’

जनमतका महासचिव चन्दन सिंहले बुधबारसम्म जनमतको नेतृत्वमा सरकार बन्नेगरी छलफल भइरहेको बताए । ‘एमाले, माओवादी, एकीकृत समाजवादीले सकरात्मक संकेत दिइसक्नु भएको छ’ उनले भने, ‘मंगलबारसम्म सहमति हुने विश्वास छ ।’

गत बिहीबार मधेश प्रदेशमा जनमत पार्टीको नेतृत्वमा सरकार बनाउन एमाले, माओवादी केन्द्र र जनमत पार्टीको बैठकले जनमत पार्टीको नेतृत्वमा सरकार बनाउने सहमति गरिसकेका छन् । सहमतिमा तीनै पार्टीबाट संसदीय दलका नेताहरु एमालेका सरोज यादव, जनमतका महेशप्रसाद यादव र माओवादीका भरतप्रसाद साहको हस्ताक्षर छ ।

‘सरकारमा सहभागी भएका दलहरूका बीचमा आपसी सहमतिमा मन्त्रालय बाँडफाँड गर्ने तथा नयाँ संयुक्त सरकार गठन प्रक्रियामा सकारात्मक अन्य दलहरूसँग पनि संवाद अघि बढाउने निर्णय भएको छ’ सहमतिमो भनिएको छ ।

वैशाख ३० मा एमाले र माओवादी केन्द्रले मधेश सरकारबाट समर्थन फिर्ता लिएपछि जनता समाजवादी पार्टी नेपालका ९जसपा नेपाल० मुख्यमन्त्री सरोजकुमार यादव विश्वासको मत लिनुपर्ने अवस्थामा छन् । जेठ २१ देखि संसद्को अधिवेशन आह्वान गरिएको छ र जेठ २३ मा यादवले विश्वासको मत लिने तयारी गरेका छन् ।

१०७ सदस्यीय प्रदेशसभामा यावदलाई सरकार जोगाउन ५४ सांसदको समर्थन आवश्यक पर्छ । मधेस प्रदेशसभामा एमालेका सभामुखबाहेक २४, जनमत पार्टी १३, माओवादी केन्द्र ९, लोकतान्त्रिक समाजवादी पार्टी ८ र एकीकृत समाजवादीका ७ सांसद छन् ।

यता जसपा नेपालका १९ र कांग्रेसका २२ सांसद छन् । लोसपा ८ र एकीकृत समाजवादीका ७ सांसदले समर्थन गर्दा जसपा नेपालका यादव ५६ मत पुग्छ । तर एकीकृत समाजवादीले जनमतलाई समर्थन गर्ने संकेत गरिसकेका छ ।

एकीकृत समाजवादीले समर्थन गरे जनमतको पक्षमा एमाले २४, जनमत १३, माओवादी ९, एकीकृत समाजवादी ७ र नागरिक उन्मुक्ति १ गरी ५४ सहित बहमुत पुग्छ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *