काठमाडौं, २६ जेठ–जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टी विभाजन नभएको बताएका छन्।
आगामी महाधिवेशनको तयारीबारे जानकारी दिन शनिबार जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष यादवले मन्त्री बन्न र धन कमाउन खोज्ने केही नेताहरूलाई राज्यले शक्ति लगाएर चोइट्याएको बताएका हुन्।
‘राज्यले आफ्नो स्रोत, साधन र शक्ति प्रयोग गरेर हाम्रा केही पार्टीका नेताहरुलाई मोहरा मात्र बनाइएको हो। त्यसलाई विभाजन भन्न मिल्दैन,’ उनले भने।
उनले पार्टीभित्र राजनीतिक तथा सैद्धान्तिक मतभेद नभएको पनि बताए। उनले निर्वाचन आयोगलाई समेत घोक्र्याएर जनता समाजवादी पार्टी एकै दिनमा दर्ता गरिएको बताए।
‘स्रोत, साधनको दुरुपयोग गरेर, निर्वाचन आयोगलाई समेत घोक्रेठ्याक लगाएर राती निवेदन दिने अनि बिहानै दर्ता गर्ने यस्तो नेपालको इतिहासमा कहिल्यै भएको थिएन। घोक्र्याएर पार्टी फुटाइयो भनेर जुन प्रचार गरियो त्यो अत्यन्त निन्दनीय र गलत कार्य हो,’ उनले भने।
प्रधानमन्त्री प्रचण्डले जसपा आफूले फुटाएको भनेर घोषणा नै गरेको यादवले बताए।
‘मैले जसपालाई फुटाए। आफ्नो सत्ता टिकाउनलाई गरेँ भनेर घोषणा नै गर्नुभयो। त्यसले के देखिन्छ भने राज्यको स्रोत, साधन र शक्ति लागेर केही सांसद, केही व्यक्तिलाई लगेको हो। पार्टी यथावत नै छ,’ उनले भने।
उनले धनुषामा पनि एकजना मान्छे पनि जसपामा नगएको बताए। गएकाहरूको मन्त्री बन्ने र धन भित्र्याउने बाहेक केही लक्ष्य नभएको पनि अध्यक्ष यादवले बताए।
अध्यक्ष यादवले आगमी दिनमा संघीयता तथा समावेशीता पक्षधरहरुसँग सहकार्य र गठबन्धन हुनसक्ने बताए।

