काठमाडौँ, १५ भदौं–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद सुल्झाउन प्रदेश मुख्यमन्त्री र संघीय मन्त्रिपरिषद् हेरफेर गर्ने चर्चा भएपनि प्रधानमन्त्री केपी शर्मा ओली तत्काल यी निर्णय गर्ने पक्षमा देखिएका छैनन्। प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् पुनर्गठनको बारेमा सोचिरहेको भएपनि तत्कालै मुख्यमन्त्री नफेरिने जिकिर गरेका छन्।
‘मुख्यमन्त्रीहरू अर्को चुनावपछि मात्रै मात्रै फेरिन्छन्, हामी अस्थिरताको पक्षमा छैनौं, देशमा राजनीतिक स्थिरता चाहिएको छ, त्यसैले अहिले मुख्यमन्त्री फेर्ने योजनामा छैनौँ,’ प्रधानमन्त्रीले ओलीले एक टेलिभिजन अन्तर्वार्तामा शनिबार भनेका छन्। यद्यपी, त्यस विषयलाई लिएर सचिवालय बैठकमा छलफल हुन बाँकी नै छ।
त्यसो त पार्टीभित्र प्रधानमन्त्री ओली, अध्यक्ष दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल बीचको शक्ति संघर्षका बेलामा नेता नेपालसँग सहमतिका लागि ओलीले मन्त्रिपरिषद् पुनर्गठन र मुख्यमन्त्री परिर्वतन गर्ने सम्मको प्रस्ताव गरेका थिए। तर, नेता नेपालले ओलीको प्रस्ताव अस्विकार गरिरहे।
‘पार्टीभित्र मोर्चाबन्दी परेको बेलामा उहाँले मुख्यमन्त्री समेत फेर्ने कुरा गर्नुभएको थियो, तर, कार्यदलको प्रतिवेदनपछि विवाद समाधान हुने छाँट देखेपछि उहाँले मुख्यमन्त्री नफेर्ने कुरा ल्याउनुभएको हुनसक्छ,’ एक नेताले भने, ‘पार्टीभित्रको विवाद समाधानका लागि प्रदेश ५ का मुख्यमन्त्री तथा कार्यदल सदस्य समेत रहेका शंकर पोखरेलले पद छोड्न तयार रहेको अभिव्यक्ति नै दिनुभएको थियो।’
पार्टीभित्रको विवाद समाधान गर्न यसअघि प्रदेश ५ र बागमती प्रदेशको मुख्यमन्त्री परिवर्तन हुने चर्चा चलेको थियो।
