दमक, १० असार–दमक नगरपालिकाको १५औं नगर सभा सम्पन्न भएको छ । नगर सभामा उपप्रमुख रेगिना भटट्राई प्रसाइँले बार्षिक नीति कार्यक्रमसहितको बजेट प्रस्तुत गर्नुभएको छ ।
उपप्रमुख भटट्राईले आगामी आर्थिक बर्ष २०८१/०८२ का लागि एक अर्ब ६२ करोड ७७ लाख ५८ हजार रुपैयाँ बराबरको बजेट पेश गर्नुभयो। सो बजेट अंक चालू आर्थिक बर्ष २०८०/८१ को तुलनामा ८.७२ प्रतिशतले बढी हो ।
सो अवसरमा ‘दमकको अस्तित्व, बढाउँछ सुरक्षित मातृत्व’ भन्ने नीति अंगिकार गर्दै सुरक्षित मातृत्व बिकासको कार्यक्रम सञ्चालन गरिने उपप्रमुख भटट्राईले उल्लेख गर्नुभयो। सोही अन्तर्गत विपन्न, दलित, असहाय तथा अपागंता भएका व्यक्तिहरुबाट नियमानुसार जन्मदर्ता गराइएका बालबालिकाहरुलाई एक पटकका लागि बैंक खाता खोल्न ४ हजार रुपैयाँ एकमुष्ट रकम उपलब्ध गराइने पनि उपप्रमुख भटट्राईले उल्लेख गर्नुभयो।
त्यस्तै उपमेयर ‘सुरक्षित महिनावारी’ कार्यक्रम सञ्चालन गर्ने, आमा तथा बच्चाको स्वास्थ्य सुरक्षित गराउन पिएनसी होम भिजिट कार्यक्रम सञ्चालन गरिने, मोतिया विन्दुको समस्या भएका बिरामीको उपचार निशुल्क गर्ने कार्यक्रम पनि नगरले ल्याएको छ ।
दमकका जनता आधारभुत स्वास्थ्य सेवाका लागि जानुपर्दैन अन्त भन्ने नारासहित मानसिक रोगसहित अन्य नसर्ने रोगको रोकथामका लागि कार्यक्रम सञ्चालन गर्नेसहित विभिन्न १६ वटा कार्यक्रम अघि सारिएको छ । १० बर्ष सेवा गरि निवृत्त हुने महिला स्वास्थ्य स्वयंसेविकालाई दिइँदै आएको ८० हजार रुपैयाँलाई बढाएर एक लाख बनाउने प्रस्ताव गरिएको छ ।
बिद्यालयमा स्वास्थ्य कार्यक्रम सञ्चालन गर्न हरेक बिद्यालयमा एक जना स्वास्थ्य फोकल पर्सन तोक्ने, बिद्यालय नर्सको उचित व्यवस्थापन गरी स्वास्थ्य कार्यक्रम सञ्चालन गर्ने, दमक अस्पतालको ल्याब सेवालाई थप विश्वसनिय बनाउन आइएसओ प्रमाणित प्रयोगशाला स्थापना गर्ने, सेवाग्राहीको चाप व्यवस्थापन गर्न टोकन सिस्टमलाई थप व्यवस्थित बनाउँदै पेपरलेस सिस्टम विस्तार गर्ने, दमक अस्पतालको सेवा विस्तार प्रयोजनका लागि दमकस्थित नमुनाबस्ती उत्तरमा रहेको सार्वजनिक जग्गालाई कम्पाउण्ड वाल गर्ने, नगरपालिकाको मातहतमा रहने गरी दमक अस्पताललाई ५० शैयामा स्तरोन्नती गर्न सम्बन्धित निकायमा समन्वय र पहल गर्ने, ९० बर्षमाथिका बृद्धबृद्धा, प्रशव अवस्थाका गर्भवती, क वर्गका र अति विपन्न सेवाग्राहीहरुलाई निशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने पनि नगरपालिकाको योजना छ ।
हरेक तीन महिनामा ९० बर्षमाथिका नगरबासीको घरदैलोमा पुगेर दिइने स्वास्थ्य जाँचलाई निरन्तरता दिइने पनि नगरपालिकाद्धारा प्रस्तुत नीति, कार्यक्रममा उल्लेख छ ।

