काठमाडौं, १५ भदौं–सरकारले नीजि विद्यालयलाई शुल्क लिन पाउने बाटो खुला गरिदिएको छ। लामो समयदेखि स्कुल बन्द हुँदा नीजि स्कुल मारमा परेपछि सरकारले यस्तो निर्णय गरेको हो।
नीजि स्कुलले शुल्क लिन पाउनेगरी निर्देशिका समेत जारी गरिसकेको शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दिपक शर्माले जानकारी दिए। उनले भने,‘निर्देशिका अनुरुप अबदेखि नीजि स्कुलले शुल्क लिन पाउने छन्। तर, एक शैक्षिक सत्रको मात्रै विद्यार्थीबाट शुल्क लिन पाउने छन्।’ उनका अनुसार स्कुलले शुल्क लिनको लागि पहिला गाउँपालिका, नगरपालिकामा एक शैक्षिक सत्रको शुल्क लिन प्रस्ताव दिनुपर्ने छ।
स्थानीय सरकारले ती प्रस्ताव स्वीकृत गरेपछि मात्रै विद्यालयले शुल्क लिन पाउने छन्। मन्त्रालयले तयार पारेको निर्देशिकामा प्रचलित कानुनको अधीनमा रही स्थानीय तहको स्वीकृतिमा सिकाइ सहजीकरणका लागि मात्रै विद्यालयले शुल्क लिन पाउने उल्लेख गरेको छ।
कोरोना संकटले शिक्षक,कर्मचारी पाल्न नसकेको भन्दै प्याब्सन,एन–प्याब्सनले शुल्क लिन पाउनुपर्ने माग राख्दै आएका थिए। तर, अभिभावकले शुल्क नतिर्ने अडान राख्दै आएका थिए। अब भने अभिभावकले पनि सरकारको निर्णय अनुसार शुल्क तिर्नुपर्ने छ।
