काठमाडौं, १४ भदौं–सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिष्ट पार्टी विचार र विधिको वैज्ञानिक संयोजन भएको बताएका छन्। अध्यक्ष दाहालले सोमबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै पार्टी विचार र विधिको वैज्ञानिक संयोजन भएको पनि बताएका हुन्।

प्रधानमन्त्री केपी शर्मा ओली, अध्यक्ष दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालको शक्ति संघर्षपछिको विवाद साम्य भएपछि अध्यक्ष दाहालले यस्तो बताएका हुन्। ‘पार्टी भनेको विचार र विधि हो। विचार मात्रैले पनि पार्टी बन्दैन र विधि मात्रैले पनि पार्टी बन्दैनु, उनले भनेका छन्, ‘अझ कम्युनिष्ट पार्टी भनेको विचार र विधिको वैज्ञानिक संयोजन हो।’

यसअघि पनि अध्यक्ष दाहालले पार्टीभित्रको विवाद कुनै पदीय भागबण्डाका लागि नभएर विधि र पद्धतिको बहस भएको बताएका थिए। ‘पार्टीमा उठेको अहिलेको बहस पद प्राप्तिका लागि हो कि भन्‍ने भ्रम पार्न खोजिएको छ’, अध्यक्ष दाहालले एक कार्यक्रममा भनेका थिए, ‘यो नेतृत्वको छिनाझपटी बिलकुल होइन, पार्टीलाई कसरी अघि बढाउने भन्‍ने विचार र पद्धतिको बहस हो।’ आफूले पार्टी एकताका लागि संघर्ष गरिरहेको उनले बताएका थिए। ‘अहिलेको बहस र छलफलले पार्टीलाई अझ एकताबद्ध र सुदृढ गर्छ, टुटाउने फुटाउने प्रवृत्ति परास्त गरिनुपर्छ,’ उनले त्यो बेला भनेका थिए, ‘तर एकता अक्षुण्ण राख्‍ने नाममा विभिन्‍न गलत विचार, प्रवृत्ति र विषयको बहस ढाकछोप हुने हुनुहुँदैन। तिनको फर्स्योट ठीक ढंगले गरिनुपर्छ।

कम्युनिष्ट हुनुको नाताले हामी आपसमा इमानदारी र पारदर्शिताका साथ तिखो संघर्ष र बहस गछौँ।’ केही दिनअघि मात्रै पार्टीका अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले दाहालसँगको विवाद मिलिसकेको बताएका थिए। उनले पार्टीमा देखिएको विवाद मिलेर प्रचण्ड पार्टीतिर र आफू सरकारतिर केन्द्रित हुने बताएका थिए। अध्यक्ष दाहालले प्रधानमन्त्री ओलीलाई लक्षित गर्दै यसअघि पनि पटक-पटक विधि र पद्धतिको उठाउँदै आएका छन्। प्रधानमन्त्री ओली पार्टीभित्रको विधि र पद्धतिलाई नमानेर एकलौटी चल्न खोजेपछि पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको थियो।

स्थायी कमिटीको बैठकमा अध्यक्ष दाहाल, वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठले ओलीको दुवै पदबाट राजीनामा मागेका थिए। तर, ओलीले दुवै पदबाट राजीनामा नदिने अडानपछि पार्टी फुटको सँघारसम्म धकेलिएको थियो। यद्यपी, अहिले ओलीको सत्ता संकट टरेको छ। पार्टीभित्रको विवाद समानको पक्षमा गइसकेको छ। पार्टीभित्रको विवाद समाधान गर्नका लागि प्रधानमन्त्री ओली र अध्यक्ष दाहालले महासचिव विष्णु पौडेल नेतृत्वमा कार्यदल निर्माण गरेको थियो। कार्यदलले एक साता लामा छलफलपछि प्रतिवेदन बुझाइसकेको छ। पार्टीभित्रको मुख्य विवादको पार्टी ओली दाहालको कार्यविभाजन स्पष्ट नभएको कारणले उत्कर्षमा पुगेको थियो।

ओली दाहालबीच ०७६ मंसिर ४ गते सरकारको नेतृत्व ओलीले गर्ने र पार्टी कार्यकारी भएर अध्यक्ष दाहालले सञ्चालन गर्ने नयाँ सहमति बनेको थियो। तर, सहमति अनुसार नगएर ओली एकलौटी चल्न खोजेपछि विवाद थपिएको थियो। त्यही अनुसार कार्यदलले जसमा प्रधानमन्त्री केपी शर्मा ओली पाँचै वर्ष प्रधानमन्त्री रहने उल्लेख छ। उता कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई एकता महाधिवेशनसम्म पार्टीको सबै अधिकार दिन कार्यदलले सुझाएको छ।

ओलीले अब यो कार्यकाल सरकारको नेतृत्व गर्ने र दाहालले कार्यकारी अधिकारसहित पार्टीको नेतृत्व गर्ने प्रतिवेदनमा उल्लेख छ। त्यसमा पार्टीले सरकार सञ्चालनमा सहयोग गर्नेछ। तर, पार्टीभित्रको गतिविधि सहमतिमा हुने भए पनि ओलीले हस्तक्षेप गर्न नपाउने जनाइएको छ। पार्टीभित्रको विवादमा अब ओलीले दुवै पदबाट राजीनामा दिनु पर्दैन। तर, अब महाधिवेशनबाट सहमतीमा सबै कुराको निकास दिनुपर्ने सुझाव समेत दिइएको छ। अहिले पार्टीभित्रको विवाद सहमतीमा समाधान हुन्छ। बाँकी नमिलेका वैचारिक राजनीतिक मुद्दा महाधिवेशनबाटै छिनोफानो हुने गरी दिशानिर्देश कार्यदलले गरेको छ। तर, पार्टीलाई विधि र पद्धतिमा सञ्चालन गर्नुपर्नेमा जोड दिइरहेका नेता नेपालको प्रमुख एजेण्डा कार्यदलको प्रतिवेदनमा समावेश भएको छैन।

नेता नेपालले पार्टी विधि र पद्धतिमा सञ्चालन गर्नका लागि एक व्यक्ति, एक पदको हुनुपर्ने बिषयमा आवाज उठाइरहेका छन्। कार्यदलले बुझाएको प्रतिवेदनमा छलफल गर्नका लागि यही १८ गते सचिवालय बैठक बोलाएको छ। सचिवालयबाट छलफल भएपछि स्थायी कमिटीको बैठकमा छलफल भएपछि कार्यदलको प्रतिवेदन पारित हुन्छ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *