दमक, २६ असार–झापाका स्थानीय तहका उपप्रमुख–उपाध्यक्षहरुबीच असल अभ्यास आदनप्रदान तथा जिल्लास्तरीय बैठक दमकमा सम्पन्न भएको छ ।

दमक नगरपालिकाकी उपप्रमुख तथा उपप्रमुख-उपाध्यक्ष सञ्जाल झापाकी संयोजक रेगिना भट्टराई प्रसाइँको अध्यक्षता र नगर प्रमुख रामकुमार थापाको प्रमुख आतिथ्यमा कार्यक्रममा झापा जिल्लाका अधिकांश गाउँ-नगरपालिकाका उपाध्यक्ष तथा उपप्रमुखहरुले आ–आफ्नो पालिकामा भइरहेका नमुना किसिमका काम र कार्यक्रमहरुबारे एकापसमा चर्चा परिचर्चा गरेका थिए ।

संवाद समूह झापाको सहजीकरणमा बनेको उपप्रमुख-उपाध्यक्ष सञ्जाल झापाको आयोजना र दमक नगरपालिकाको सहयोगमा भएको उक्त अन्तरकृयात्मक बैठकमा संयोजक भट्टराईले दमक नगरका केही महत्वपूर्ण कार्यक्रमहरुका बारेमा जानकारी गराएकी थिइन् । दमकबाट अरु पालिकाले पनि सिक्न सक्ने र दमकले अरु पालिकाहरुबाट पनि सिक्न सक्ने किसिमका अभ्यासहरुले कार्यसम्पादनमा सहयोग पुग्ने उनको भनाई थियो ।

उनले यस सञ्जालको अन्तरक्रियात्मक छलफलका माध्यमबाट उपप्रमुख तथा उपाध्यक्षहरुलाई आफ्नो अधिकार क्षेत्र र कर्तव्यका बिषयमा थप ज्ञान आर्जन भई स्थानीय सरकार सञ्चालनमा थप सहयोग पुग्ने विश्वास व्यक्त गरिन् ।

सो अवसरमा दमक नगरपालिकाका न्यायिक समिति सदस्य कमलकुमार श्रेष्ठले पालिकाका केही राम्रा कार्यक्रमहरुका बारेमा जानकारीमुलक प्रस्तुति दिएका थिए ।

कार्यक्रममा कचनकवल गाउँपालिकाका उपाध्यक्ष नवराज भट्टराईले सो पालिकामा भए गरेका गतिबिधिहरुबारे जानकारी गराउँदै पालिका अध्यक्षबाट कतिपय कार्यक्रमहरु सञ्चालनमा ढिलासुस्ती हुने गरेको गुनासो सुनाए ।

कमल गाउँपालिकाकी उपाध्यक्ष प्रमिला न्यौपानेले गाउँपालिकामा सञ्चालन हुने सबै कार्यक्रमहरुको जस प्रमुख-अध्यक्षहरुलाई जाने भएकाले कुनै पनि कार्यक्रमहरुको सफल कार्यन्वयनका लागि उनीहरुलाई बुझाउन सक्नुपर्ने जोड दिईन् । उनले आफ्नो पालिकामा सञ्चालित केही कार्यक्रमहरुका बारेमा जानकारी गराउँदै योजनाहरुको अनुगमन लगायतका कतिपय अधिकार क्षेत्रका उपयोगबारे आफ्नो धारणा राखिन् । चालू आर्थिक बर्षमा पालिकाले चालू र पुँजीगत खर्च सन्तोषजनक रुपमा गर्न सकेको तथ्याङक प्रस्तुत गर्दै उनले बालमैत्री घोषणाका कारण कमल गाउँपालिकालाई लिजाको रिपोर्टमा अंक बढेको जानकारी दिईन् ।

गौरादह नगरपालिकाकी उपप्रमुख जलबर्षा राजवंशीले सो नगरपालिकामा महिला, बालबालिका तथा आदिवासी समुदायको उत्थानमा केन्द्रित कार्यक्रमहरुका बारेमा जानकारी गराएकी थिइन् । उनले गौरादह नगरमा आदिवासीहरुको साँस्कृतिक संग्राहालय निर्माणको नयाँ योजना ल्याइएको जानकारी दिईन् ।

गौरीगञ्ज गाउँपालिकाकी उपाध्यक्ष पुजन न्यौपाने कुँवरले कोशी प्रदेशमानै महिला अध्यक्ष र उपाध्यक्ष पाएको त्यस गाउँपालिकाले महिला तथा बालबालिका लक्षित धेरै कार्यक्रमहरु ल्याएको बताईन् । उनले यो बर्ष गाउँपालिकाका सबै माविमा स्काउट सञ्चालनमा आएको र आगामी बर्षदेखि आधारभुत तहका बिद्यालयमा पनि यो कार्यक्रम शुरु गरिन लागेको उल्लेख गरिन् । उपाध्यक्षसँग युवा उद्यमी व्यवसायी विशेष कार्यक्रम ल्याइएको पनि उल्लेख गदै उनले सुत्केरीसँग उपाध्यक्ष कार्यक्रम सञ्चालनमा आएपछि यस कार्यक्रम प्रभावकारीता हुदै गएको जानकारी दिईन् ।

कार्यक्रममा शिवसताक्षी नगरपालिकाकी उपप्रमुख नरमाया कार्कीले विगतका दिनमा शुरु शुरुमा अधिकार, क्षेत्रका बिषयलाई लिएर प्रमुख-उपप्रमुखबीचको असमझदारी र विवादको बिषय बाहिर आउँदा जनमानसमा जनप्रतिनिधिहरुप्रतिनै नकारात्मक असर पर्ने सम्भावना धेरै देखिएकाले यसलाई न्यूनीकरण गरिएको आशय राखिन् । पालिका भित्र अनुगमन, न्यायिक समिति लगायतका काम कार्यक्रमहरुमा बजेटको खासै अभाव महसुस गर्न नपरेको उनले बताईन् ।

भद्रपुर नगरपालिकाकी उपप्रमुख राधा कार्कीले नगर प्रमुखले उपप्रमुख सम्बद्ध कार्यक्रम राख्न खोजिँदा र कोही सहायता सहयोग लिन आउँदा सिफारिस गरि पठाएको अवस्थामा नगर प्रमुखले सहायता रकम घटाएर दिने, बजेट सकिएको छ भन्दिने लगायतका समस्या रहेको सुनाईन् ।

सो अवसरमा बुद्धशान्ति, विर्तामोड, बाह्रदशी, मेचीनगर, हल्दिबारी, झापा गाउँपालिका लगायतका पालिकाका पनि उपप्रमुख-उपाध्यक्षहरुले आआफ्ना अनुभवहरु राखेका थिए ।

यसैवीच बैठकले उपप्रमुख÷उपाध्यक्ष सञ्जाल झापाको संयोजकमा गौरीगञ्ज गाउँपालिकाकी उपाध्यक्ष पुजन न्यौपाने सर्वसम्मत चयन भईन् । सञ्जाललाई सक्रिय बनाउन उनीहरुले आलोपालो नेतृत्व चयन गरिआएको छ ।

बैठकले भदौ अन्तिम साता अर्को बैठक बस्ने, हरेक पालिकामा उपाध्यक्ष–उपप्रमुखहरुलाई पर्ने समस्याहरुको निराकरणका लागि एकताबद्ध भएर समाधान खोज्ने, यस किसिमका कार्यक्रमलाई निरन्तरता दिने लगायतका निर्णय भएको सञ्जालकी अध्यक्ष न्यौपानेले जानकारी दिईन् ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *