काठमाडौँ, २६ असार–नेकपा (एकीकृत समाजवादी) को तर्फबाट प्रतिनिधि सभाका सदस्य सांसद राजेन्द्रप्रसाद पाण्डेले नयाँ सरकार भ्रष्टाचार ढाकछोपका लागि बनेको आरोप लगाउनु भएको छ।
संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै सांसद राजेन्द्रप्रसाद पाण्डेले यस्तो बताउनु भएको हो। सांसद पाण्डेले झापाको गिरिबन्धु प्रकरण, नक्कली भुटानी शरणार्थी प्रकरणलगायतका प्रकरणहरू छोप्नका लागि सत्ता परिवर्तन गरिएको बताउनु भयो।
एकीकृत समाजवादीका उपाध्यक्ष समेत रहनुभएका सांसद पाण्डेले संविधान संशोधन, देशलाई सुधार्ने, सपार्ने, कुरासँग गठबन्धन नरहेको आफूहरूको बुझाइ रहेको बताउनुभयो।
उहाँले प्रमुख प्रतिपक्षको जिम्मा पाएको राजनीतिक दल नै जिम्मेवारी छोडेर सरकारमा सहभागी हुनुले शंका उब्जिएको बताउनु भयो। सांसद पाण्डेले एमाले र कांग्रेस सरकारमा आफूहरू सम्मिलित हुनेकुरा नसोचेको र आफूहरूको आवश्यकता पनि दुई दललाई महसुस नभएको अनुभव आफूले गरेको बताउनु भयो।

