बिर्तामोड, २६ असार–बिर्तामोडमा अपाङ्गता रोकथाम तथा पुनस्स्थापना कार्यक्रम सञ्चालन हुने भएको छ । कार्यक्रम सञ्चालनका लागि बिर्तामोड नगरपालिका र करुणा फाउण्डेसनविच मंगलबार सम्झौता भएको हो।
सम्झौतामा बिर्तामोड नगर प्रमुख पवित्रा महतारा प्रसाई, उप प्रमुख नगेन्द्र प्रसाद संग्रौला, प्रमुख प्रशासकीय अधिकृत राधाकृष्ण खतिवडा, महिला विकास अधिकृत पुष्पा कार्की र साझेदार संस्था करुणाको तर्फबाट कार्यकारी निर्देशक दिपकराज सापकोटा, व्यवस्थापक सन्तोष घिमिरेलगायतले हस्ताक्षर गरेका छन् ।
नगर प्रमुख प्रसाईले कार्यक्रमलाई सफल बनाउन सबैलाई सुझाब दिइन् । उनले अपाङ्गता रोकथाम तथा पुनः स्थापनाका लागि जटिलताहरु धेरै भएपनि प्रयास आवश्यक रहेको धारणा राखिन् । पहिलो एक वर्षको प्रगतिका आधारमा कार्यक्रमलाई थप अगाडि बढाइने नगर प्रमुख प्रसाईको भनाई छ ।
अपाङ्गता रोकथाम तथा पुनस्स्थापनाका लागि करुणा फाउण्डेसनले कोशीका सबै जिल्लामा यो कार्यक्रम सञ्चालन गर्दैछ । बिर्तामोडसहित झापाका ११ वटा पालिकामा सम्झौता सम्पन्न भएको कार्यकारी निर्देशक सापकोटाले जानकारी दिए ।
कार्यक्रममा बोल्दै अपाङ्गता स्वालम्वन संस्थाका अध्यक्ष दिपक थापाले पाँच वर्ष अघिनै गर्नु पर्ने यो कार्यक्रम ढिलै भएपनि सञ्चालन हुन लागेको भन्दै नगरपालिका प्रति खुशिव्यक्त गरे ।
