झापा, २९ असार–दक्षिणी झापाको कचनकवल गाउँपालिका–५ स्थित आमजुवानीमा स्थानीय युवाहरुले सडकमै धान रोपेर विरोध जनाएका छन् ।
सडक नाली सफा गर्दा निकालिएको फोहोरले सडक हिलाम्मे भएपछि आक्रोशित स्थानीयहरुले यस्तो कदम चालेका हुन् । विगतमा पटक–पटक स्थानीय सरकारलाई सडकको अवस्था सुधार्न अनुरोध गरिए पनि कुनै सुनुवाइ नभएको र मर्मत कार्य नहुँदा, आज बिहान स्थानीय युवाहरुले सडकमै धान रोपेर आफ्नो असन्तुष्टि व्यक्त गरेका छन् ।
युवाहरुको यो अनौठो विरोधपछि, कचनकवल गाउँपालिकाका अध्यक्ष कालेन्द्र प्रसाद सिंह राजवंशी घटनास्थलमा पुगेका थिए। उनले युवाहरुलाई भोलिदेखि सडक मर्मतको काम सुरु हुने आश्वासन दिएका छन् ।
‘सडकको मर्मत कार्य भोलिबाट सुरु गर्नेछौं’, अध्यक्ष राजवंशीले आक्रोशित युवाहरुसँग भने । उनले तत्काल सडकको समस्या समाधान गर्न प्रयास गर्ने प्रतिबद्धता जनाएका छन् ।
