दमक, २९ असार–झापाको अर्जुनधारा नगरपालिकामा ‘एक युवा, पाँच विरुवा’ अभियान शुरु भएको छ । विश्वमा जलवायु परिवर्तनका कारण बढ्दै गएको तापक्रम न्यूनीकरण गर्ने उद्देश्यले राष्ट्रिय युवा सङ्घ केन्द्रीय कमिटीले शुरु गरेको अभियान अन्तरगत अर्जुनधारा नगरपालिकामा समेत वृक्षारोपण शुरु भएको हो ।

अर्जुनधारा ८ नम्बर वडा कमिटीको आयोजनामा आज वृक्षारोपण गरिएको छ । युवा सङ्घ केन्द्रीय कमिटीको एक युवा पाँच बिरुवा वृक्षारोपण अभियान अन्तरगत अर्जुनधारा–८ पशुहाट परिसरमा वृक्षारोपण गरिएको हो ।

वृक्षारोपण कार्यक्रमकी प्रमुख अतिथि राष्ट्रिय युवा सङ्घकी स्थायी केन्द्रीय कमिटी सदस्य रोजिना पाण्डेले प्राकृतिक विपत्ति न्यूनीकरणका लागि वृक्षारोपण अनिवार्य भएको बताउनुभयो । “बढ्दो जनसङ्ख्या र सहरीकरणले प्रदुषण र वन विनाश भइरहेको छ”, उहाँले भन्नुभयो, “यसको न्यूनीकरणका लागि वृक्षारोपण गर्नैपर्छ, युवा सङ्घको केन्द्रीय कमिटीले देशव्यापी रुपमा यो अभियान शुरु गरिरहेको छ ।”

कार्यक्रममा अर्जुनधारा नगर कमिटी अध्यक्ष धिरज मोक्तान लगायतले शुभकामना मन्तव्य राख्नुभएको कार्यक्रमको सञ्चालन सचिव घरेन्द्र डाँगीले गर्नुभएको थियो । कार्यक्रममा वडा कमिटी पदाधिकारी तथा सदस्य, नेकपा एमाले पार्टी नेताकार्यकर्ता लगायतको बाक्लो उपस्थिति रहेको थियो ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *