धरान, ३० असार–धरानका मन्दिरहरुमा भक्तजनको बाक्लो उपस्थिति देखिएको छ। साउनमा बोलबम शुरु हुने भएकाले यहाँका मन्दिरहरुमा असारभित्रै भाकल पूरा गर्न आउने भक्तजनको भीड लागेको हो।
इटहरीका वर्षा बुढाथोकी साउनमा बलि चढाउन नमिल्ने भएकोले भाकल पूरा गर्न असार पारेर आएको बताइन्।
उनले भनिन, “बूढासुब्बाप्रति अगाध आस्था छ। भर्खरै विवाहबन्धनमा बाँधिएका दम्पतीले यहाँ भाकल गरेर भाकल बुझाएमा मनोकाङ्क्षा पूरा हुने विश्वास छ।”
यो मन्दिर परिसरमा रहेको बाँसमा प्रेमिल जोडीले धागो बाँध्ने चलन रहिआएकाले धागो बाँध्न आएको उनले बताइन्।
भाकल पूरा गर्न झापाबाट धरान आएकी अञ्जान कार्कीले पनि साउनमा बलि दिन नमिल्ने भएकाले असार अन्तिममा भाकल पूरा गर्न आएको बताइन।
उनले भनिन, “म वर्षैपिच्छे बुढासुब्बा मन्दिरमा भाकल पूरा गर्न भाले लिएर आउने गर्छु। मैले भाकल गरेर मागेको कुरा पूरा पनि हुने गरेको छ।”
१० वर्षअघिसम्म बूढासुब्बा मन्दिरको बाँसमा नाम लेख्दा प्रेम अमर हुन्छ भन्ने विश्वासले बाँसमा नाम लेख्ने चलन थियो। विस्तारै यहाँका बाँस मर्न थालेपछि मन्दिर व्यवस्थापन समितिले बाँस वरिपरि तारजाली लगाएको छ। त्यसयता बाँसको वरिपरि माला बाँध्ने लहर बढेको हो।
बुढासुब्बा आउने भक्तजनले कुखुराको भाले, अण्डा र फलफूल लिएर पूजा गर्न आउने गर्छन्। यहाँ पूजा गर्न मुलुकका अधिकांश ठाउँ र भारतको सिक्किम दार्जिलिङलगायतका स्थानबाट आउने गरेका छन्।
भाकल गर्नेहरुले बुढासुब्बा मन्दिरमा भाले र नजिकै रहेको गौरिनी मातालाई पोथी वा पोथी नभएमा कुखुराको अण्डा चढाउने परम्परा छ।
मन्दिरनजिकै फूलमाला बेच्दै आएका मोहम्मद जमिन अन्य वेलाभन्दा असार अन्तिममा भक्तजनको भीड धेरै भएको बताउँछन्। उनले साउनभरि काटमार गर्न नहुने भएकाले असार अन्तिममा वर्षेनि भिडभाड हुने गरेको बताए।
असारको अन्तिम शनिवार हिजो र आज सबैभन्दा धेरै भक्तजन आएको बुढासुब्बा मन्दिरका पुजारी डम्बर आलेमगरले बताए। शनिवार ५ हजारभन्दा बढी भक्तजन आएका थिए।
साउनभर धरान उपमहानगरपालिका–१४ विजयपुरस्थित पिण्डेश्वर मन्दिरमा बोलबम मेला लाग्ने भएकाले धरानका सबै मठमन्दिरमा साउनभरि बलि दिन नपाइने चलन छ।
साउनभरि बोलबम मेला लाग्ने भएकाले भाकल पूरा गर्न र बलि चढाउन साउनअगाडि बुढासुब्बा, पिण्डेश्वर, दन्तकालीलगायतका मन्दिरमा भक्तजन आउने गरेका छन्।
