कचनकवल (झापा), १ साउन–इस्लाम धर्म अनुयायीहरूको धार्मिक आस्थालाई मध्यनजर गर्दै कचनकवल गाउँपालिकाले आर्थिक वर्ष २०८०–८१ मा विभिन्न धार्मिक संरचनाहरूको निर्माण गरेको छ ।
यस कार्यअन्तर्गत कचनकवलका विभिन्न वडाहरूमा पाँचवटा ईदगाह निर्माण र मृत्युपछि कबरिस्तानसम्म लैजान प्रयोग गरिने १७ वटा ताबुद १७ बस्तीहरूमा वितरण गरिएको छ । साथै, दुईवटा मस्जिद पनि निर्माण गरिएको छ ।
कचनकवलको कुल जनसंख्या ४२ हजार ९१२ जनामध्ये ९ हजार १ मुस्लिम धर्मावलम्बी रहेका छन् । यस गाउँपालिकामा इस्लाम धर्मावलम्बीहरू दोस्रो ठूलो समुदायको रूपमा रहेका छन् । कचनकवल–५ को नयाँहाट, डाँगाबारी, बडझोडा, कचनकवल–३ को बडकेचना लगायत पाँच स्थानमा ईदगाह निर्माण गरिएको हो ।
यसका साथै, कचनकवल–३ र कचनकवल–४ मा मस्जिद निर्माण गरिएको छ । मृत्यु पश्चात प्रयोग गरिने १७ वटा ताबुद १७ बस्तीका इस्लाम धर्मावलम्बीहरूलाई प्रदान गरिएको छ। इस्लाम धर्मको प्रमुख आस्था अनुसार, अल्लाहको भक्ति गर्नु सबैभन्दा ठूलो कर्तव्य हो । इस्लाम धर्मको पवित्र पुस्तक कुरआन हो जसको अर्थ बारम्बार पढिने पुस्तक हुन्छ। यसका अनुयायीहरूलाई अरबीमा मुस्लिम भनिन्छ।
कचनकवल गाउँपालिकाले इस्लाम धर्मावलम्बीहरूको धार्मिक आवश्यकतालाई सम्बोधन गर्दै यस्ता धार्मिक संरचनाहरूको निर्माण गरेको हो। यसले यहाँका मुस्लिम समुदायको धार्मिक जीवनलाई थप सहज र समृद्ध बनाउने विश्वास गरिएको छ।
