काठमाण्डौं, ४ साउन–भुटानको थिम्पुमा सम्पन्न ८औँ साउथ एसियन कराते प्रतियोगितामा नेपाल ३१ स्वर्ण पदकसहित पहिलो भएको छ।

शुक्रबार सम्पन्न प्रतियोगितामा नेपालले ३१ स्वर्ण पदकसहित २० रजत र ११ कास्य पदक सहित कुल ६२ पदक जितेको छ।

दोस्रो भएको भारतले २७ स्वर्ण, २० रजत र १३ कास्य पदक आफ्नो खातामा पारेको छ।

५ स्वर्ण, १८ रजत र ३१ कास्य पदक जितेको श्रीलंका तेस्रो हुँदा आयोजक भुटानले ५ रजत र ३७ कास्य पदकमै चित्त बुझायो।

प्रतियोगिताको अन्तिम दिन पुरुष क्याडेटतर्फ ५२ केजीमुनिको तौल समूहमा समन श्रेष्ठ, ६३ किलोमा साहिल राई, जुनियर तर्फ ६८ किलोमा निशान तामाङले स्वर्ण पदक दिलाए।

त्यसैगरी २१ वर्षमुनि ८४ किलोमा गौरव नेपाल, ८४ किलो प्लसमा आशिष श्रेष्ठ, पुरुषकै सिनियरतर्फ ५५ किलोमा एलोन श्रेष्ठ, ६७ किलोमा सन्तोष श्रेष्ठ, ८४ किलोमा मोहम्मद सेखु आलम र ८४ किलो प्लसमा विप्लव लाल श्रेष्ठले नेपाललाई स्वर्ण दिलाए।

क्याडेटको महिलातर्फ ४२ किलोमा वर्षा राई, ४७ किलोमा प्रोसिया चौधरी, ६१ किलोमा मनीषाकुमारी बोहरा, महिलातर्फकै जुनियर ४२ किलोमा सुस्मिता वाइवा, ५३ किलोमा समीक्षा ढुंगाना, यु–२१ को ४५ किलोमा प्रियंका शाही, ५० किलोमा अञ्जली महर्जन र ५५ किलोमा जिया कार्कीले स्वर्ण हात पारे।

त्यसैगरी महिला सिनियरतर्फ ४५ किलोमा वर्षा बुढा मगर, ६१ किलोमा निङ्पा तामाङ र ६८ किलोमा १९ औँ एसियाडकी रजत पदक विजेता एरिका गुरुङले नेपाललाई स्वर्ण पदक दिलाए।

महिलातर्फकै टिम कुमितेमा नेपालले पहिलो स्थान हासिल गर्दा पुरुष टोली भने दोस्रो भएको छ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *