माइधार (शिबसताक्षी), ५ साउन–झापाको शिवसताक्षी नगरपालिका–१० स्थित कनकाई (माई) नदीमा बगाएर ल्याउँदै गरेको अवस्थामा सखुवाको काठ बरामद गरिएको छ ।
आज बिहान शिवसताक्षी–१० स्थित कनकाई (माई) नदीबाट गाडीको टिउमा बाँधी अवैध रुपमा चिरान काठ बगाई ल्याइरहेको भन्ने गोप्य सूचनाको आधारमा अस्थायी प्रहरी चौकी माइधारबाट खटिएको प्रहरी टोलीले पक्राय गरेको हो ।
प्रहरीसहित गैडे सामुदायिक बन उपभोक्ता समितिसहितको टोलीले उक्त खोलामा सखुवा जातको १९ क्युफिट बरामद गरेको हो । काठको मूल्य करिब ५७ हजार रुपैयाँ पर्ने जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
पक्राउ गरिएको सो काठ आवश्यक कारबाहीका लागि शिबसताक्षी–१० माइधारस्थित गैंडे सामुदायिक वन उपभोक्ता समितिलाई बुझाइएको छ ।
