काठमाडौँ, ८ साउन–नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४६औँ स्मृति दिवसका अवसरमा उनले योगदानको चर्चा गरिएको छ।

पुष्पलाल स्मृति प्रतिष्ठानद्वारा आज कीर्तिपुर–४ चम्पादेवीस्थित पुस्पलाल स्मृति पार्कमा आयोजित कार्यक्रममा उनले मुलुकको राजनीतिक विकासमा पुर्‍याएको योगदानको स्मरण गरिएको हो।

नेपाल कम्युनिष्ट पार्टी ९एकीकृत समाजवादी० का अध्यक्ष एवं प्रतिष्ठानका अध्यक्ष माधवकुमार नेपालले निरंकुुश राणा शासनको अन्त्य गरी जनअधिकार स्थापना गर्न मुलुकमा कम्युनिष्ट पार्टी स्थापना गर्नुभएका पुष्पलाल कुशल सङ्गठक, राष्ट्रवादी र दूरदर्शी नेता भएको बताए।

उनले, “तानाशाही पञ्चायती व्यवस्थाविरुद्ध गरिएको संयुक्त जनआन्दोलनका सिद्धान्तकार पुष्पलालले सुरू गरेको कम्युनिष्ट आन्दोलनको यात्रा अहिले विभिन्न रूपमा सञ्चालन भएको छ। कम्युनिष्ट पार्टीको नेतृत्वमा पटकपटक सरकार निर्माण भएका छन्। जनताको आर्थिक र सामाजिक रूपान्तरणका प्रयास भइरहेका छन् । यसमा पुष्पलाललगायत नेताहरूले गरेको योगदानको महत्वपूर्ण भूमिका छ।”

अध्यक्ष नेपालले राजनीतिक क्रान्तिका विभिन्न चरण तथा सङ्घर्षका बेला सिद्धान्तप्रति अविचलित रहनुभएका पुष्पलाल देश र जनताको हितमा जस्तो सुकै जोखिम उठाएर अगाडि बढ्न तथा अरू साथीलाई प्रेरित गर्ने त्याग एवं निष्ठाको आदर्श भएको धारणा राखे।

त्यसक्रममा अध्यक्ष नेपाल, पार्टीका सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाल, कम्युनिष्ट नेता वामदेव गौतमलगायत नेताहरूले कार्यक्रमस्थलमा रहेको पुष्पलालको शलिकमा पुष्पगुच्छासहित माल्यार्पण गरेका थिए।

जन्म विसं १९८१ असार १५ मा रामेछापको भँगेरीमा जन्मिएका पुष्पलालको विसं २०३५ साउन ७ गते भारतमा उपचारका क्रममा निधन भएको थियो।

जनअधिकार स्थापित गर्ने लक्ष्यका साथ विसं २००६ वैशाख १० मा पुष्पलालसहित नरबहादुर कर्माचार्य, नीरञ्जनगोविन्द वैद्य, नारायणविलास जोशी, मोतीदेवी श्रेष्ठको सक्रियतामा नेकपाको स्थापना गरिएको थियो।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *