फाइल तस्विरः नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल

काठमाडौँ, ७ साउन–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेपाली कम्युनिष्ट आन्दोलनका संस्थापक पुष्लाललाई कहिल्यै पनि बिर्सन नसकिने पात्रका रूपमा चित्रण गर्नुभएको छ।

४६औँ पुष्पलाल स्मृतिका अवसरमा एक विज्ञप्ति जारी गर्दै अध्यक्ष नेपालले नेपाली जनताको मुक्ति र नेपाली समाजको रूपान्तरणका लागि पुष्पलालले सुरु गरेको यात्रा विभिन्न किसिमले विस्तारित भइरहेको छ बताउनुभयो।

साथै क्रान्तिले एकपछि अर्को उपलब्धि हासिल गर्दै गइरहेको समेत अध्यक्ष नेपालको भनाई छ। विज्ञप्तिमा भनिएको छ, ‘यस अर्थमा हामी उहाँलाई कहिल्यै बिर्सन सक्दैनौँ।’ सोमबार अध्यक्ष नेपालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘आज नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव कमरेड पुष्पलालको ४६औं स्मृति दिवस। कमरेड पुष्पलालले २०३५ साल साउन ७ गतेका दिन हामीलाई सधैंका निम्ति छाडेर गए पनि नेपाली कम्युनिस्ट आन्दोलनमा उहाँले निर्वाह गरेको भूमिका आज पनि उत्तिकै महत्वपुर्ण छ। नेपाली जनताको मुक्ति र नेपाली समाजको रूपान्तरणका लागि उहाँले सुरु गरेको यात्रा विभिन्न किसिमले विस्तारित भइरहेको छ, यसले एकपछि अर्को उपलब्धि हासिल गर्दै गइरहेको छ। यस अर्थमा हामी उहाँलाई कहिल्यै बिर्सन सक्दैनौँ।’

विज्ञप्तिमा अगाडि भनिएको छ,‘नेपाली कम्युनिस्ट आन्दोलन आरम्भ गर्ने सम्पूर्ण श्रेय कमरेड पुष्पलालमा जान्छ। उहाँले आफ्नै दाजु सहिद गङ्गालाल, १९९७ सालका अरू सहिद र २००७ सालको क्रान्तिका योद्धाहरूबाट प्रेरणा पाउनुभएको थियो। उहाँ निरङ्कुश तानाशाही पञ्चायती कालमा अनेकौँ जोखिम मोलेर भए पनि जीवनको अन्तिम घडीसम्म आफ्नो आस्थाप्रति अटल र अविचलित हुदै सङ्घर्षको यात्रामा अविराम लागिरहनुभयो। कमरेड पुष्पलालले नेपाली समाजको वस्तुनिष्ठ विश्लेषण गर्दै नेपाली क्रान्तिको सिद्धान्त निरूपण गर्नुभएको थियो, जुन सिद्धान्तमा उभिएर हामी आज पनि हिंडिरहेका छौँ। उहाँको सिङ्गो जीवनयात्रा, सैद्धान्तिक(वैचारिक रचना र कार्यक्रमहरू हेर्दा उहाँमा प्रस्ट रूपमा सर्वहारावादी दृष्टिकोण पाइन्छ। उहाँले नेपाली समाजको ऐतिहासिक भौतिकवादी ढङ्गले व्याख्या गर्नुभयो र समाजमा विद्यमान वर्ग विश्लेषण, त्यसको विकासक्रम, वर्गीय अन्तर्विरोधको पहिचान र राजनीतिक मूल अन्तर्विरोधको समाधानका उपायहरूलाई मार्क्सवादी ढङ्गले व्याख्या गर्ने कामको अगुवाइ गर्नुभयो। कमरेड पुष्पलालले आफ्नो पुस्तालाई मात्र होइन, कैयन् पछिसम्मका लागि पनि दिएको सबैभन्दा ठूलो योगदान भनेको नेपाल कम्युनिस्ट पार्टीको स्थापना नै हो। कम्युनिस्ट पार्टीको संस्थापकका रूपमा पार्टीलाई अगाडि बढाउन उहाले कुशल सङ्गठकको भूमिका निर्वाह गर्नुभएको थियो। कमरेड पुष्पलालले प्रतिक्रियावादी सत्तालाई उन्मूलन गर्नका लागि समाजका सबै क्रान्तिकारी, परिवर्तनकामी समूह र राजनीतिक शक्तिहरूलाई एकताबद्ध बनाएर लैजाने संयुक्त जनआन्दोलनको सिद्धान्त प्रतिपादन गर्नुभएको थियो।’

अहिले नेपाली क्रान्ति सम्पन्न गर्न नेपाली विशेषताको समाजवाद तथा वैज्ञानिक समाजवादको लक्ष्य प्राप्तिको घोषणाका साथ नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी क्रियाशील छ। हाम्रो रणनीतिक उद्देश्य लोकतान्त्रिक मूल्य मान्यतामा आधारित समृद्ध समाजवाद निर्माण गर्नुहो। यतिवेला तात्कालिक कार्यनीति समाजवाद उन्मुख सामाजिक(आर्थिक रुपान्तरण। राष्ट्र र जनताको, विशेष गरी श्रमजीवी वर्गको हित र समृद्धिलाई अवलम्बन गर्दै आत्मनिर्भर स्वाधीन राष्ट्रिय अर्थतन्त्र निर्माण गर्ने अठोट हामीले गरेका छौँ। मार्क्सवाद–लेनिनवादको वैज्ञानिक र क्रान्तिकारी दृष्टिकोणका आधारमा राष्ट्रिय अन्तर्राष्ट्रिय परिस्थितिको विश्लेषण गर्दै कम्युनिस्ट पार्टी निर्माण गर्न कमरेड पुष्पलालले गरेको योगदानप्रति हामी सधैँभरी आभारी हुनेछौँ। उहाँको योगदानलाई युगौँसम्म सम्झिनेछौँ। कमरेड पुष्पलालप्रति भावपुर्ण श्रद्धाञ्जली।’

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *