झलनाथ खनाल

काठमाडौँ, १४ साउन–नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले कम्युनिष्ट आन्दोलनलाई मिल्न नदिने षड्यन्त्र भइरहेको बताउनु भएको छ।

शनिबार पुष्पलालको जन्मशताब्दीको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उहाँले नेपालको कम्युनिष्ट आन्दोलनमा अब हामीले नयाँ बहस सुरु गर्नुपर्ने बताउनुभयो।

‘कम सबै कमरेडलाई उच्चस्तरबाट बहस गर्न निम्ता दिन्छु। गहन ढंगले बहस सुरु गरौँ, मैत्रीपूर्ण ढंगले, हिजो कतिपय बेलामा कुनै मतभिन्नता भयो भने तुरुन्त लाञ्छना लगाइहाल्ने, शत्रु जस्तो व्यवहार गर्ने प्रचलन थियो’, उहाँले एमालेलाई लक्षित गर्दै भन्नुभयो, ‘अहिले पनि कतिपय पार्टीभित्र मतभिन्नता भयो कि त्यसलाई उछिट्याइहाल्ने कुनै पनि हालतले यो खालको प्रवृत्ति छ । कतिपय नेताहरुले भोगिराख्नु पनि भएको छ।’

उहाँले कम्युनिष्टहरुबीच वैचारिक र नीतिगत एकता गर्नुपर्ने बताउनु भयो। सम्मानित नेता खनालले कम्युनिष्ट पार्टीहरुले मुख्य प्रतिद्वन्द्वी टुंगो लगाएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो।

नेता खनालले अगाडि भन्नुभयो, ‘दुई ठूला पार्टी मिलेर सरकार बनाएर संविधान संशोधन गर्छु भन्दैछन्, केका लागि अहिलेसम्म दुई पार्टीले गरेको तथाकथित सात बुँदे सहमति खै ? कहाँ आयो ? संसदमा पनि ढाँटिएको छ। संसदमा लिखित हस्ताक्षर गरिएको किन प्रस्तुत गर्न सकेनन् ? किन लुकाइराखेका छन्रु कसैले नौ बुँदे भन्दैछन्, खै सही गरेको देखेको छ। यो संविधान केमा संशोधन गर्ने, दुइटा पार्टीको निगाहले बनाइएको होइन।’

संविधान संशोधन जस्तो विषयमा खेलाची गर्न नहुने भएकाले स्वीकार्न नसकिने उहाँले बताउनु भयो। नेता खनालले दुई पार्टीको अधिनायकवादको विरुद्ध मेचीदेखि महाकालीसम्म संग्राम सुरु गर्ने चेतावनी दिनुभयो।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *