ताप्लेजुङ, १५ साउन–ताप्लेजुङमा आगामी भदौमा सञ्चालन हुने दोस्रो संस्करणको ताप्लेजुङ गोल्डकपमा त्रिभुवन आर्मी क्लबसहित ८ टिम सहभागी हुने भएका छन्।

भदौ ३ गतेदेखि सदरमुकामस्थित भानुजन माध्यमिक विद्यालयको खेल मैदानमा हुने खेलमा ताप्लेजुङको प्रतिनिधित्व सङ्घर्ष स्पोर्टिङ क्लब उकालापानीले गर्नेछ।

प्रतियोगितामा वाई-वाई पाँचथर फुटबल क्लब पाँचथर, सगरमाथा युथ स्पोर्टिङ क्लब मोरङ, सलहेस युथ क्लब सिराहा, बुटवल लुम्बिनी एफसी र भारतको सिलीगुडीबाट एक टिम सहभागी हुने छन्।

भारत र झापाबाट १र१ टिम सहभागी हुने निश्चित भए पनि टिमको नामावली प्राप्त भइनसकेको आयोजक लाखे जात्रा खेल सञ्चालक समितिका अध्यक्ष देवराज गुरुङले बताए।

प्रतियोगिता सञ्चालनबारे जानकारी दिन आज सदरमुकाममा आयोजना गरिएको पत्रकार सम्मेलनमा दिएको जानकारीअनुसार गत वर्ष सहभागी भएका कुनै पनि टिम यो वर्षको प्रतियोगितामा सहभागी हुने छैनन्।

यस वर्षको प्रतियोगितामा पुरस्कारको राशि बढाइएको छ। यस वर्षको विजेताले नगद ५ लाख ५५५ रुपैयाँसहित कप, मेडल र प्रमाणपत्र पाउनेछ भने उप-विजेताले कप, मेडल र प्रमाणपत्रसहित नगद २ लाख ५० हजार ५५५ रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ।

प्रत्येक खेलमा म्यान अफ दि म्याच घोषित गरिने र विजेता खेलाडीलाई नगद ५ हजार रुपैयाँ प्रदान गरिनेछ भने विभिन्न ८ वटा विधामा उत्कृष्ट खेलाडीलाई पुरस्कृत गरिने बताइएको छ।

जसअनुसार सर्वोत्कृष्ट खेलाडीलाई ट्रफी, मेडल र प्रमाणपत्रसहित नगद १५ हजार रुपैयाँ दिइनेछ।

प्रतियोगिताको सर्वाधिक गोलकर्ता, उत्कृष्ट फरवार्ड, उदीयमान खेलाडी, उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट कोचलाई जनही मेडल र प्रमाणपत्रसहित १०-१० हजार रुपैयाँ प्रदान गरिनेछ।

यो वर्ष पनि दर्शकले खेल हेर्ले क्वार्टरफाइनलमा एक सय, सेमिफाइनलमा र फाइनलमा क्रमशः २ सय रुपैयाँ र २५० रुपैयाँ तिर्नुपर्ने आयोजकले जनाएको छ।

खेल सञ्चालनका खेल मैदान व्यवस्थापनसहितका आवश्यक तयारी भइरहेको बताइएको छ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *