भद्रपुर, १९ साउन–कम लगानीमा राम्रो प्रतिफल दिने भएकाले झापाका किसान सुपारी खेतीतर्फ आकर्षित भएका छन्।

बुद्धशान्तिका रुद्रप्रसाद पोखरेलले दुई बिघाभन्दा बढी जमिनमा सुपारी खेती गरेका छन्। ‘व्यापारी बगानमै आएर सुपारी खरिद गर्ने भएकाले बजारको चिन्ता छैन। वार्षिक पाँच लाखभन्दा बढी आम्दानी भइरहेको छ’, उनले भने, ‘मेहनत गर्ने हो, गोडमेल गर्ने हो भने आम्दानी अझै बढाउन सकिन्छ।’

सुपारीले अन्य बालीलाई असर नगर्ने भएकाले यसतर्फ आकर्षण बढेको बुद्धशान्तिका चन्द्रशेखर पौडेल बताए। ‘मैले एक बिघा १२ कट्ठा जमिनमा सुपारीखेती गरेको छु। सुपारीको बारीभित्रै सिजनअनुसार तरकारी, रोपाइँ र मकै खेती गर्ने गरेको छु’, उनले भने, ‘सुपारीबाट मात्रै वार्षिक तीन लाखभन्दा बढी आम्दानी भइरहेको छ।’

अरु खेती लगाउँदा हात्तीले नोक्सान गर्ने भएकाले नगदेबाली सुपारी खेतीमा लागेको अर्का किसान निर्मल भट्टराई बताउँछन्। उनका अनुसार सुपारीका पातबाट दुनाटपरी बनाउन सकिन्छ।

सुपारीको बोटमा फल लागेदेखि नै व्यापारीले अग्रिम भुक्तानी गर्ने गरेको अर्का किसान बिन्दु पौडेलले बताइन्। ‘बिरुवा लगाएको सात वर्षदेखि यसले फल उत्पादन शुरु गर्छ’, उनले भनिन्, ‘त्यसपछि निरन्तर यसबाट वार्षिकरूपमा आम्दानी भइरहन्छ।’

राज्यले उन्नत जातका सुपारीका बिरुवामा लगानी गर्दै बजारीकरणमा समन्वय गरिदिने हो भने सुपारीखेती गर्ने किसानको आम्दानी बढ्ने स्थानीय प्रेम राई बताउँछन्। ‘पछिल्लो समय सुपारीखेती व्यावसायिक रूपमा गर्दै वार्षिक लाखौँ रुपैयाँ आम्दानी भइरहेको छ’, उनले भने, राज्यले बजारीकरणमा सहयोग गर्ने हो भने सहज हुने थियो।’

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *