बिराटनगर, १९ साउन–कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मुलुकमा बसोबास गर्ने विविध जातजातिबीचको एकताबाट समृद्धि कायम गर्न सकिने बताएका छन् ।

विराट मैथली साहित्य परिषद्लगायत ११ संस्थाद्वारा आज साँझ विराटनगरमा आयोजित कार्यक्रममा साहित्यकार प्राडा राजेन्द्र विमल तथा कथाकार रामनारायण सुधाकरलाई दोसल्ला एवं प्रमाणपत्रद्वारा सम्मान गर्दै उनले विभित्र जातजातिका भाषा, संस्कृति एवं सम्पदाको संरक्षण एवं विकास गर्न सरकार प्रतिबद्ध रहेको बताए ।

मुख्यमन्त्री कार्कीले प्रदेशमा भाषा आयोगले दिएको सिफारिसअनुसार दोस्रो भाषाका रूपमा मैथली र लिम्बू भाषालाई लागू गर्न आवश्यक कानुन बनाएर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रचुर सम्भावना बोकेको विराटनगर विभित्र कारणले विकासमा पछाडि परेको चर्चा गर्दै उनले महानगर र यहाँ बसोबास गर्ने विभित्र भाषाभाषीको समग्र विकासका लागि इमान्दार प्रयत्न गर्नपर्नेमा जोड दिए ।

मुख्यमन्त्री कार्कीले भने, ‘प्रदेशले विगतमा ल्याएको प्रज्ञा प्रतिष्ठान ऐनमा रहेको त्रुटिलाई संशोधन गरी संसद्मा पेस गर्ने र यसैको माध्यमबाट सबै भाषा, संस्कृतिको संरक्षण हुनेछ र प्रतिष्ठानका लागि नीति, कानुन र बजेटको व्यवस्था हुनेछ ।’ प्राडा विमलले सामाजिक सद्भाव कायम गरी राष्ट्रिय एकतामा जोड दिनुपर्ने सुझाव दिए ।

कार्यक्रमका संयोजक रामरिझन यादवले भाषा आयोगले दिएको सुझाव प्रदेशमा कार्यान्वयन गर्न आग्रह गरे ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *