शेख हसिना

काठमाडौँ — बंगलादेशी प्रधानमन्त्री शेख हसिना भारतको त्रिपुरा राज्य पुगेकी छिन् । अन्तर्राष्ट्रिय समाचार संस्थाहरुका अनुसार आन्दोलनकारीले आवासमै छिरेर प्रदर्शन गरेपछि देश छाडेकी उनी ढाकाबाट हेलिकप्टरमा उडेकी थिइन् । केहीबेर अघि उनी भारतको त्रिपुरा राज्य पुगेकी छन् ।

आइतबारदेखि हिंसात्मक प्रदर्शन चर्किएपछि प्रधानमन्त्री हसिनाले मुलुक छोडेकी हुन् । यसैबीच गणभवन पुगेका प्रदर्शनकारीले विजयीभावमा उत्सव मनाइरहेका छन् । बंगलादेशी टेलिभिजन च्यानल २४ लाई उद्धृत गर्दै एएफपीले प्रधानमन्त्री निवासमा भीड जम्मा भएको जानकारी दिएको छ ।

उनीहरूले क्यामेराअघि उभिएर विजयीभावमा उत्सवसमेत मनाएको दृश्य टेलिभिजनले प्रसारण गरेको समाचारमा उल्लेख छ । बंगलादेशमा केही समय मत्थर बनेको सरकारविरोधी आन्दोलन आइतबारदेखि पुनस् चर्किएको थियो । आइतबार बंगलादेशका विभिन्न ठाउँमा सरकारविरोधी प्रदर्शनका क्रममा कम्तीमा ९६ जनाको मृत्यु भएको थियो ।

‘विभेदविरोधी विद्यार्थी आन्दोलन’ को ब्यानरमा भएको प्रदर्शनका क्रममा ठाउँ-ठाउँमा सुरक्षाकर्मीसँग झडप भएको बंगलादेशी सञ्चारमाध्यमले जनाएका छन् ।

सोमबार कम्तीमा ४ लाख मानिस सडकमा उत्रिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । ढाकामा सोमबार प्रदर्शनका क्रममा ६ जनाको मृत्यु भएको छ । राजधानी ढाकामा गाउँगाउँबाट समेत प्रदर्शनका लागि मानिसहरू आएको समाचारमा उल्लेख छ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *