काठमाडौँ, २१ साउन—राजधानी काठमाडौंलगायतका मुलुकका विभिन्न भागमा डेंगीको संक्रमण बढेको छ । साउन १४ सोमबार काभ्रेपलाञ्चोकमा एकै दिन १२ जनामा डेंगी संक्रमण पुष्टि भयो । केही दिनअघि काठमाडौं र कास्कीमा चार दिनमै १७र१७ जना र तनहुँमा २० जनामा संक्रमण पुष्टि भएको थियो ।

स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) को साउन १४ सम्मको तथ्यांकअनुसार मुस्ताङ, हुम्ला, जुम्ला, डोल्पामा बाहेक ७३ जिल्लामा डेंगीबाट दुई हजार ६१ जना संक्रमित बनिसकेका छन् ।

आर्थिक वर्ष २०६०।६१ मा एक जना मात्र डेंगी संक्रमित भेटिएकोमा २०८० को पुस मसान्तसम्म आइपुग्दा देशभर झन्डै ५२ हजारभन्दा बढीमा डेंगी संक्रमण पुष्टि भएको थियो । डेंगीका कारण गत वर्ष २० जनाको मृत्यु भएको थियो भने सन् २०१९ मा महामारीका रूपमा फैलिएको थियो ।

संक्रामक रोग विज्ञहरूका अनुसार यो वर्ष पनि डेंगी उच्च दरमा फैलिन सक्ने जोखिम छ । संक्रामक रोग विशेषज्ञ डा।शेरबहादुर पुनले डेंगी नियन्त्रण तथा रोकथाममा जनतासँग प्रत्यक्ष जोडिएको स्थानीय तहले विशेष भूमिका खेल्नुपर्ने बताए । ‘डेंगी रोकथाम तथा नियन्त्रण कार्य योजना २०८१’ मा जिम्मेवार बनाइएका अन्य निकायले पनि पहल गर्नुपर्छ,’ उनले भने ।

डेंगी रोकथाम तथा नियन्त्रण कार्ययोजना २०८१ अनुसार डेंगीबारे सचेतनाका लागि घरदैलो कार्यक्रम, चोक तथा रणनीतिक स्थानमा ब्यानर तथा पोस्टर प्रदर्शन तथा माइकिङ, भूमिगत पार्किङ स्थल, निर्माणाधीन भवन, अव्यवस्थित ग्यारेज, कवाडी खानालगायत स्थानको निगरानी तथा नियमन गर्ने जिम्मेवारी स्थानीय तह, टोल विकास संस्था र अन्य सरोकारवाला निकायलाई दिइएको छ । जनस्तरसम्म डेंगीबारे सचेतना जनाउन राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्र, सम्बन्धित प्रदेशको स्वास्थ्य निर्देशनालय, स्वास्थ्य कार्यालयलाई जिम्मेवार बनाइएको छ । कार्ययोजनाको तालिका अनुसार सूचना उत्पादन, प्रकाशन चैतदेखि कात्तिकसम्म गर्नुपर्ने उल्लेख छ ।

डेंगी सचेतनाका लागि विद्यालय शिक्षा कार्यक्रम सञ्चालन गर्ने जिम्मेवारी स्वास्थ्य मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, सम्बन्धित स्वास्थ्य कार्यालय र स्थानीय तहलाई दिइएको छ ।लामखुट्टेको वृद्धि विकास नियन्त्रण गर्न पानी सञ्चयका लागि अभ्यासको सुधार गर्न स्वास्थ्य मन्त्रालय, खानेपानी मन्त्रालय, खानेपानी तथा ढल व्यवस्थापन विभागलगायतलाई जिम्मेवारी दिइएको छ ।

खाल्डाखुल्डी पुर्ने तथा फोहोर व्यवस्थापन गर्ने जिम्मेवारी भने सहरी विकास मन्त्रालय, सडक विभाग, सम्बन्धित सडक डिभिजन कार्यायल, स्थानीय तहलाई दिइएको छ ।कार्ययोजनाअनुसार लामखुट्टेको लार्भा खोज र नष्ट गर्ने अभियान स्वास्थ्य मन्त्रालय, ईडीसीडी, सम्बन्धित प्रदेशको स्वास्थ्य निर्देशनालय, स्थानीय तह आमा समूह, टोल विकास संस्था र महिला स्वास्थ्य स्वयंसेविका मिलेर गर्नुपर्ने व्यवस्था गरिएको छ ।

जोखिम नक्सांकन तथा हट–स्पट पहिचान, डेंगीको अध्ययन तथा अनुसन्धान गर्ने जिम्मेवारी स्वास्थ्य मन्त्रालय, ईडीसीडीलगायत निकायलाई दिइएको छ । डेंगी रोगको निदानका लागि आवश्यक किटको सुनिश्चितता भने स्वास्थ्य मन्त्रालय, प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रले गर्नुपर्ने भनिएको छ ।

नेपाल जनस्वास्थ्य संघका निवर्तमान अध्यक्ष बसन्त अधिकारीका अनुसार डेंगी नियन्त्रणको मुख्य हतियार ‘सर्च एन्ड डिस्ट्रोय’ हो । ‘यसमा सबभन्दा बढी भूमिका स्थानीय तह, टोल विकास संस्थाको हुन्छ,’ उनले भने, ‘तर, सरकारसँग समुदाय परिचालन गर्ने ठोस योजना देखिएको छैन ।’ उनले दीर्घकालीन योजना बनाउन आवश्यक रहेको बताए ।

‘जनचेतनामूलक कार्यक्रमका लागि स्वास्थ्य प्राविधिक, स्थानीय टोल सुधार समिति, बुद्धिजीवी, युवालाई कसरी अनिवार्य उपस्थित गराउन भन्नेबारे योजना स्पष्ट व्यवस्था छैन,’ उनले भने, ‘सिंगापुरमा व्यक्तिगत घरमा लार्भा देखिएमा जरिवाना तिराउने प्रावधान छ ।’उनले इच्छाशक्ति भयो भने बजेटको खासै समस्या नभएको बताए । ‘डेंगी नियन्त्रण गर्न ठूलो बजेट आवश्यक पर्दैन,’ उनले भने ।

ईडीसीडीका निर्देशक डा।यदुचन्द्र घिमिरेले चाहेर मात्र डेंगी नियन्त्रणमा ल्याउन नसक्ने बताए । ‘वर्षायामसँगै डेंगी रोग सार्ने लामखुट्टेको वृद्धि विकास हुने स्थानहरू प्रचुर मात्रामा भएकाले सहकार्यबिना नियन्त्रण गर्न कठिन छ,’ उनले भने, ‘डेंगी नियन्त्रणबारे स्वास्थ्य मन्त्रालयबाहेक अन्य सरोकारवाला मन्त्रालयले खासै भूमिका खेल्न सकेका छैनन् ।’

सडक विभागका सहायक प्रवक्ता इन्जिनियर अमितकुमार शर्माले डेंगी रोकथाम गर्न आफ्ना मातहतका सडकमा खाल्डाखुल्डी पुर्ने काम भइरहेको बताए । ‘सामान्यतया बर्खायाममा कालोपत्र गर्न नहुने भन्ने मान्यता छ । तर, हामीले झरी पर्दा पनि कालोपत्र गर्न मिल्ने बिटुमिन प्रयोग गरेर गरिरहेका छौं,’ उनले भने ।

काठमाडौं महानगरपालिकाका सहायक प्रवक्ता दीपक अधिकारी र ललितपुर महानगरपालिकाका सूचना अधिकारी देवप्रसाद गुरागाईंले पनि डेंगी रोकथाम गर्न आफ्नो मातहतका सडकमा खाल्डाखुल्डी पुर्ने काम भइरहेको बताए । ‘डेंगीबारेमा सचेतना जगाउन, खोज र नस्ट गर भन्ने कार्यक्रम चलाउन बैठक बस्ने तयारीमा छौं,’ काठमाडौं महानगरपालिकका सहायक प्रवक्ता अधिकारीले भने ।

ललितपुर महानगरपालिकाका सूचना अधिकारी गुरागाईंले पनि डेंगीबारेमा जनचेतनामूलक कार्यक्रम आयोजना गर्ने तयारीमा रहेको बताए । ‘निरन्तर झरी परिरहेकाले केही दिन जनचेतनामूलक कार्यक्रम रोकेका थियौं, अब पुनः सञ्चालन गर्छौं,’ उनले भने ।

डेंगी भाइरस एडिस जातको लामखुट्टेमार्फत फैलने गर्छ । एडिस लामखुट्टे विशेषतः बिहान र बेलुकी सूर्योदय र सूर्यास्त हुनुभन्दा अगाडि बढी सक्रिय हुने र त्यसैबेला संक्रमण बढी सार्छ । उच्च ज्वरो आउने, टाउको दुख्ने, आँखाको गेडी दुख्ने, जीउ अत्यधिक दुख्ने डेंगीका प्रमुख लक्षण हुन् । गम्भीर प्रकृतिको डेंगु संक्रमण भएका बिरामीमा थकान महसुस हुने, गिजाबाट रक्तस्राव हुने, पेट असाध्यै दुख्ने, तारन्तर बान्ता हुने, सास फेर्न गाह्रो हुने, पेट खुट्टा सुनिनेजस्ता लक्षण देखा पर्छन् । यस्ता लक्षण देखिएका बिरामीलाई भने तत्काल अस्पताल भर्ना गर्नुपर्छ ।

लामखुट्टेको टोकाइबाट डेंगीबाहेक मलेरिया, औलो, चिकनगुनिया (डेंगीसँग मिल्दाजुल्दो) रोग पनि लाग्न सक्छ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *