पुष्पकलम दाहाल 'प्रचण्ड'

विराटनगर, २१ साउन–नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले आफूहरु संविधान संशोधनको विरोधी नभएको बताएका छन् । तर सत्तारुढ कांग्रेस–एमालेले गर्न खोजेको संविधान संशोधन र आफूहरुले चाहेको संशोधनमा फरक रहेको उनले बताए ।

‘हामी अहिलेसम्म प्राप्त उपलब्धिहरुमा टेकेर अझ अधिकार दिन संविधान संशोधनको पक्षमा छौं’, प्रचण्डले भने, ‘अहिलेको सरकारको प्रकृति, विगतको पृष्ठभूमि सबै हेर्दा उनीहरुले जनतालाई अझ अधिकार सम्पन्न बनाउन होइन, अधिकार कटौती गर्ने उद्देश्य अन्तरनिहीत भएकाले आलोचना गरेका हौं ।’

आज (सोमबार) विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसंग बोल्दै माओवादी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्डले भने, ‘निर्वाचन प्रणालीमा सुधार आवश्यक छ भन्ने हामीलाई पनि लागेको छ । तर उहाँहरुले सोचेको संशोधन मनशाय र हाम्रो १८० मा फरक छ । हामी अझ समावेशी बनाउन संविधान संशोधन भन्छौं, उहाँहरु कटौती गर्न, झण्डैझण्डै २ पार्टी भनेर पश्चिमा लोकतन्त्रको नक्कल गर्न दुस्साहस गर्दै हुनुहुन्छ ।’

कांग्रेस र एमाले मिल्नासाथ संविधान संशोधन भइनहाल्ने समेत उनले बताए । ‘प्रतिनिधिसभा र राष्ट्रियसभामा दलहरुको जस्तो उपस्थिति छ, उनीहरुले मात्र गर्दैमा संविधान संशोधन संविधानतस् र कानुनतस् हुनसक्ने स्थिति छैन’, प्रचण्डले भने, ‘त्यसकारण यसको तात्विक अर्थ पनि छैन भन्ने मलाई लाग्छ ।’

साथै बहुमतको बलमा समानुपातिक समावेशीताको अधिकार कतौती गर्ने दुस्साहस गरिए स्वीकार्य नहुने पनि उनले बताए । ‘विगतमा संसद विघटन गर्दा जसरी सडकमा गएर प्रतिवाद गरेका हौं, त्यही गर्न बाध्य हुन्छौं’, उनले चेतावनीको भाषामा भने ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *