डा आरजु राणा देउवा

काठमाडौँ, २६ साउन–नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा आरजु राणा देउवाले प्रत्यक्ष निर्वाचनमै ३३ प्रतिशत महिला उम्मेदवारी अनिवार्य गर्नेगरी पार्टीले नीति बनाउनुपर्ने धारणा राखेकी छन्।

नेपाली कांग्रेसको जारी केन्द्रीय कार्यसमिति बैठकमा महामन्त्रीद्वारा पेश भएको प्रतिवेदन एवं जनप्रतिनिधि कार्य सम्पादन निर्देशिका, २०८१ का सन्दर्भमा आफ्ना सुझाव राख्दै उनले नेपाली कांग्रेसले राज्यका निकायमा ३३ प्रतिशत महिला सभागिताको नीति लिएको भए पनि प्रत्यक्ष निर्वाचनमा नै यसको सुनिश्चितताको माग गरेकी हुन्।

डा राणाले भनिन्, “समावेशिताका विषयमा मैले पहिल्यैदेखि भन्ने गरेको के हो भने प्रत्यक्ष निर्वाचनमै महिलालाई ३३ र दलित समुदायका लागि १० प्रतिशत उम्मेदवारीको सुनिश्चितता हुनेगरी नीति बनाउँ, यो मेरो सुझाव हो।”

उनले पार्टीका प्रत्येक प्रशिक्षण कार्यक्रममा लैङ्गिक र समावेशितासम्बन्धी छुट्टै सत्र समावेश गरी यसको पाठ्यक्रममा नै लैङ्गिक र समावेशिता विषय समेट्नुपर्ने धारणा राखिन्।

केन्द्रीय सदस्य डा राणाले स्थानीय तहमा लैङ्गिक र सामाजिक समावेशिताको पनि सामाजिक अडिट गर्नुपर्ने, स्थानीय तहमा रहेका पार्टीका जनप्रतिनिधिहरुले गरेका कामहरुका साथै पार्टीको केन्द्र र प्रदेश तहमा भए गरेका समग्र कामको अनुगमन तथा मूल्यांकन गर्न एक छुट्टै संयन्त्रको निर्माण गर्नुपर्ने धारणा राखिन्।

उनले पार्टीका कुनै पनि विभागको अलग्गै वेबसाइट बनाएर त्यसमा ती विभागका कामहरुको प्रतिवेदन नै तयार पारी अद्यावधिक गरी राख्नुपर्ने र यसो गर्दा पार्टीका सबै विभागका क्रियाकलापहरु खुला रुपमा सबैले अध्ययन गर्न सक्ने हुनुपर्ने बताइन्।

उनले कामको प्रभावकारिता र प्रतिबद्धताका आधारमा भ्रातृ संस्था या शुभेच्छुक संस्थामा सदस्य तथा पदाधिकारी नियुक्त गरिनुपर्ने र उनीहरुको कामको आधारमा थप जिम्मेवारी दिनुपर्ने पनि बताइन्।

त्यसैगरी सम्पूर्ण भ्रातृ संगठनहरुको पनि आ–आफ्नै बैंक खाता खोली ती सबै खाताको अनुगमन पार्टीको केन्द्रले गर्ने र वर्षेनि लेखापरीक्षणको व्यवस्था हुनुपर्ने पनि सुझाइन्।

परराष्ट्रमन्त्री डा राणाले यसअघिको बैठकमा आफ्नो मन्त्रालय, बङ्गलादेशमा विकसित पछिल्लो राजनीतिक घटनाक्रम र अरु समसामयिक विषयमा जानकारी गराएकी थिइन्।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *