काठमाडौँ, २६ साउन–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकको हवाई सुरक्षाका लागि आवश्यक पूर्वाधार निर्माणमा सरकार गम्भीर बन्नुपर्ने बताउनु भएको छ।
अध्यक्ष नेपालले एक विज्ञप्ति जारी गर्दै यस्तो बताउनु भएको हो। ‘देशमा पछिल्लो समय हिमाली दृश्यावलोकन, ढुवानी र उद्धारका लागि हेलिकप्टरको प्रयोग बढ्दो छ, तर उच्च पहाडी भूभागको मौसम पूर्वानुमानका लागि पर्याप्त पूर्वाधार र स्रोतको अभावले उडान चुनौतीपूर्ण हुने गरेको सम्बद्ध क्षेत्रका विज्ञहरूले बताउँदै आएका छन्’, नेपालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘दुर्घटनाको वास्तविक कारण पत्ता लगाउन, दुर्घटनाको जोखिम कम गर्न तथा देशको आकाशलाई सुरक्षित बनाउन सम्बन्धित निकायलाई गम्भीर हुन आग्रह गर्दछु।’
नुवाकोटको शिवपुरी गाउँपालिका–७ सूर्यचौरमा बुधबार एयर डाइनोस्टीको हेलिकप्टर दुर्घटनामा परी पाइलट अरुण मल्लसहित चारजना चिनियाँ नागरिकको मृत्यु भएको थियो ।
पूर्वप्रधानमन्त्री समेत रहनु भएका अध्यक्ष नेपालले दुर्घटनामा दिवङ्गत पाइलट अरुण मल्ल र चिनियाँ नागरिकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजन र चीन सरकारप्रति गहिरो समवेदना व्यक्त गरेका छन्।

