झिलझिले, २६ साउन–झापाको शिबसताक्षी नगरपालिकामा अवस्थित पूर्वको प्रसिद्ध धार्मीकस्थल सताक्षीधाममा कोशी प्रदेशका खानेपानी, सिचाई तथा उर्जामन्त्री एकराज कार्की तथा प्रदेश सांसद राधाकृष्ण खनालसहित स्थानीय जनप्रतिनिधिहरुले स्थलगत अनुगमन गरेका छन् ।
खानेपानी, सिंचाई तथा उर्जामन्त्री कार्कीले सताक्षीधाम परिसरभित्र सताक्षी खोला नियन्त्रणका लागि स्थलगत अनुगमन गरेका हुन् । पछिल्लोसमय धार्मिक क्षेत्र सताक्षीधाममा सँगैरहेको सतासी खोलाले कटान सुरु गरेपछि धाम संकटमा पर्दे आएको छ ।
उक्त क्षेत्रमा दीर्घकालिन तटबन्धन निर्माण गर्न कोशी प्रदेशका मन्त्रीसहितको टोलीले स्थलगत अनुगमन गरेको सताक्षीधाम पर्यटन विकास समितिका अध्यक्ष तुला बोखिमले जानकारी दिए ।
अवलोकनका क्रममा मन्त्री कार्कीले तटबन्धन धेरै गर्नुपर्ने भएकाले डिपिआर तयारी गरी काम अगाडि बढाउनुपर्ने बताए । उनले भने, अहिले बर्खाको समय भएकाले अस्थायी रुपमा तटबन्ध गर्नुपर्ने भएमा तत्कालका लागि रोकथाम गरौं । दीर्घकालिन तटबन्ध ठूलो रकम आवश्यक पर्ने भएकाले डिपिआर तयार गरी प्रकृया अगाडि बढाउने उनको भनाई थियो ।
धामका अध्यक्ष बोखिमले मन्त्री कार्कीलाई धामका समस्याहरुका बारेमा जानकारी गराएका थिए ।
टोलीले सताक्षीधाम परिसरमा निर्माण हुँदै गरेको ८७ धाराको समेत अवलोकन गरेको थियो ।
सताक्षीधामको पूर्वपट्टी सतासी खोलामा श्रद्धालु भक्तजनहरुलाई स्नान गर्नेको लागि बनाउन सुरु गरिएको धारा निर्माणको काम अन्तिम चरणमा पुगेको सताक्षीधाम धार्मिक तथा पर्यटन विकास समितिको सचिव कालीप्रसाद रिजालले जानकारी दिएका छन् ।
उनका अनुसार हाल निर्माण गरिँदै आएका धाराहरु भक्तजनहरु र विभिन्न व्यक्तिहरुले एक धारा बराबार २५ हजार रुपैयाँको सहयोगबाट निर्माण हुँदै आएको हो ।
