काठमाडौँ, २८ साउन–स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले मन्त्रालयले अघि सारेको स्वास्थ्य बीमा सुधार कार्यक्रमको अपनत्व लिइदिन आग्रह गरेका छन्।
कांग्रेस केन्द्रीय समितिको बैठकमा पार्टी केन्द्रीय सदस्यसमेत रहेका मन्त्री पाौडेलले आफूले आइतवार मन्त्रीका हैसियतमा सार्वजनिक गरेको स्वास्थ्य क्षेत्रका प्राथमिकता तथा कार्ययोजनामा स्वास्थ्य बीमाको दायरा ५ लाख रुपैयाँ पुर्याउने विषय समेटेको उल्लेख गर्दै यसका लागि स्रोत सुनिश्चितसमेत गर्न सकिने उल्लेख गरे।
उनले ४० अर्ब हाराहारीमा बीमाका लागि स्रोत जुटाउन सकिने भन्दै आफ्नो पार्टीकै पालामा अघि बढेको कार्यक्रम सुधारका लागि आफूले अघि सारेको कार्यक्रमलाई अपनत्व लिएर अघि बढाउन निर्णय गरिदिन केन्द्रीय समितिसमक्ष आग्रह गरे।
‘मन्त्रालयले अघि सारेको प्राथमिकता र कार्ययोजनाअन्तर्गतको बीमा सुधार योजना कार्यान्वयन गर्ने निर्णय गरेर प्रोत्साहित गर्न अनुरोध गर्दछु‚’ मन्त्री पौडेलले भने।
बैठकमा मन्त्री पौडेलले नेतृ चित्रलेखा यादवले उठएको क्यान्सरको औषधि महँगो भएको विषयको जवाफ दिँदै यीलगायत बढी मूल्य परेका औषधिको मूल्य समायोजन गर्नकै लागि कार्ययोजनामा मूल्य समायोजनको कुरा ल्याएको बताए।
‘नसर्ने रोगको औषधिको मूल्य अकासिएको छ’, उनले भने‚ ‘त्यसैले यसलाई नियन्त्रण गर्न मैले समायोजनको प्रस्ताव ल्याएको छु।’
ललितपुरका मेयर महर्जन विषयगत समिति सदस्य मनोनीत
मन्त्री पौडेलले ललितपुर महानगरका प्रमुख चिरिबाबु महर्जनलाई मन्त्रालयअन्तर्गतको संघ‚ प्रदेश र स्थानीय तह विषयगत समितिको सदस्य मनोनीत गरेका छन्।
उनले मन्त्रीस्तरीय निर्णय गर्दै ललितपुरका मेयर महर्जनलाई देशैभरका तहबीचको स्वास्थ्य विषय समन्वयका लागि महत्वपूर्ण पदमा मनोनयन गरेका हुन्।
समन्वय तथा अन्तरसम्बन्ध ऐन २०७७ अन्तर्गत बनेको समितिले स्वास्थ्य क्षेत्रको योजना तथा कानून तर्जुमाका लागि तीनै तहसँग परामर्श र समन्वय गर्नेछ।
ऐन आएयता हालसम्म पूर्णता नपाएको र बैठकसमेत नबसेको समितिको बैठक आगामी भदौ ६ गते पहिलो पटक तोकिएको छ।
मन्त्री पौडेलले संघको मात्र विषय नभएकाले सबै तहसँग समन्वय गरेर आफूले अघि सारेका कार्ययोजना लागू गराउन पहल थालेको र बैठकसमेत डाकिएको बताए।

