मोरङ, ३२ साउन–सत्तारुढ नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले पार्टीको आगामी महाधिवशेनमा सभापतिमा उठ्ने बताएका छन् । बिहीबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै कोइरालाले अघिल्लो महाअधिवेशनमा पराजित भएको निकटतम प्रतिद्वन्द्वी भएका कारण आगामी महाधिवेशनमा स्वतः दाबी रहने बताए ।
देशभर भ्रमण गरेर नेता–कार्यकर्ता भेटघाटमा रहेको र उम्मेदवारीका विषयलाई अन्यथा लिन नहुने उनले बताएका छन् । कोइरालाले मुलुकलाई स्थायित्व दिनका लागि ठूला दलबीच समीकरण बनेको भन्दै यसलाई सफल बनाउनुपर्ने बताए । राजनीतिक स्थायित्वका लागि संविधानमा सुधार गर्नुपर्ने र निर्वाचन प्रणालीका बारेमा संशोधन आवश्यक रहेको नेता कोइरालाको भनाइ थियो । उनले कोशी सरकारका विषयमा केन्द्रमा छलफल भइरहेकाले एक साताभित्र कांग्रेस सहभागी हुने बताए ।
उनले सरकार विस्तार सम्बन्धमा प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाबीच छलफल भइरहेको जानकारी दिए । नेता कोइरालाले भने, ‘हाम्रा कारणले प्रदेश सरकार विस्तार हुन नसकेको आरोप गलत हो ।’ उनले विगत एक वर्षदेखि आफूले एमाले र कांग्रेसबीच गठबन्धन हुनुपर्छ भनेको र यो सरकारलाई भत्काउने कार्य आफूबाट कुनै हालतमा नहुने बताए ।
नेता कोइरालाले राजनीतिक स्थायित्वका लागि वर्तमान गठबन्धन आवश्यक भएको विचार राखे । उनले संविधानमा लेखिएअनुसार समावेशी समानुपातिक कायम राखी संविधानमा सुधार गरी निर्वाचन प्रणाली संशोधन गरी बहुमतको सरकार निर्माण हुनेतर्फ अगाडि बढ्नु पर्नेमा जोड दिए ।

