काठमाडौं, ४ भदौं–काठमाडौं उपत्यकालगायत नेवार समुदायको बाहुल्य रहेका स्थानमा मंगलबार गाईजात्रा मनाइँदैछ। वर्ष दिनयता दिवंगत भएकाको सम्झनामा भाद्र शुक्ल प्रतिपदामा यो जात्रा मनाइन्छ।

गाईजात्राका दिन विशेषगरी दिवंगत परिवारका सदस्य वा आफन्तको स्मृतिमा झाँकीसहित जात्रा निकाल्ने प्रचलन छ। काठमाडौंमा मृतकको तस्विरसहित गाईको झाँकी हनुमानढोका दरबार परिक्रमा गराइन्छ। दिवङ्गत भएकाको स्मृतिमा पुण्यको कामना गर्दै गाईको झाँकीमा आएकालाई चोखो खानेकुरा र भेटी दान गर्दा पितृले मोक्ष पाउँछन् भन्ने मान्यता छ।

भक्तपुरमा बाँसमा मृतकको तस्विर गाईको प्रतीक चिह्न टाँसेर नगर परिक्रमा गराई लठ्ठी जुधाएर घिन्ताङ् घिसी नाच देखाइँदैछ। पाटनमा पनि बौद्ध धर्मावलम्बीले विहार वा बहाल वही परिक्रमा गरेर यो जात्रा मनाउँदै मनाइँदैछ। उपत्यकाबाहेक नेवार समुदायको बाहुल्य भएका देशका अन्य भागमा पनि गाईजात्रा मनाइन्छ

नाबालक छोरा चक्रवर्तेन्द्रको मृत्युपछि शोकाकुल रानीलाई सान्त्वना दिँदै तत्कालीन राजा प्रताप मल्लले वर्ष दिनको आशौच बारिरहेकालाई गाईसहित दरबार परिसरमा आउन आदेश दिएपछि यसले जात्राको रूप लिएको विश्वास गरिन्छ।

मुख्य दिन भाद्र कृष्ण प्रतिपदा भए पनि अष्टमीका दिनसम्म मनाइने यो पर्वका क्रममा प्रहसन, सामाजिक विकृतिप्रति व्यङ्ग्यात्मक प्रदर्शन, नाचगान गर्ने परम्परा छ। गाईजात्रा नेवार समुदायको बाहुल्य भएका काभ्रेको बनेपा, धुलिखेल र पनौती, सिन्धुपाल्चोकको बाह्रबिसे, धादिङको त्रिशूली क्षेत्र, नुवाकोट, दोलखा, खोटाङ, भोजपुर, इलामलगायतका स्थानमा पनि मनाइन्छ।

गाईजात्राका अवसरमा मंगलबार काठमाडौ उपत्यकामा सार्वजनिक बिदा छ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *