काठमाडौँ, ४ भदौ–डेंगी संक्रमितको संख्या देशभर ४ हजार नाघेको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी) का अनुसार अगस्ट १९ सम्म देशका ७४ जिल्लामा ४ हजार ९७ जनामा डेंगी पुष्टि भएको छ। इडिसिडीको पछिल्लो विवरणअनुसार हाल सबैभन्दा धेरै संक्रमित तनहुँ जिल्लामा रहेका छन्।

तनहुँमा हाल ७८१ जनामा डेंगी पुष्टि भएको छ। त्यसैगरी दोस्रोमा काठमाडौंमा ३८० त्यसपछि क्रमशः कास्कीमा ३५१, पर्वतमा १७७ र चितवनमा १५७ जनामा डेंगी पुष्टि भएको छ। हुम्ला, जुम्ला र मनाङबाहेका देशका सबै जिल्लामा डेंगी देखिएको छ। यो वर्ष हालसम्म डेंगीबाट २ जनाको मृत्यु भएको इडिसिडीले जनाएको छ।

हैजा संक्रमित ५८ जना पुगे

डेंगी संक्रमित तीव्र रूपमा फैलिरहेको समयमा यो हप्ता हैजाका संक्रमित पनि थपिएका छन्। इडिसिडीको विवरणअनुसार हाल हैजाका संक्रमितको संख्या ५८ पुगेको छ। पछिल्लो हप्ता काठमाडौंमा ३ जना हैजा संक्रमित भेटिएका छन्।

तीमध्ये २ जना अस्पताल भर्ना भएका छन्। यो वर्ष अहिलेसम्म ललितपुरमा ४१ जना, कैलालीमा ८ जना, काठमाडौंमा ७ जना र प्यूठानमा २ जनामा हैजाको जीवाणु पाइएको छ। सोमबार मात्र काठमाडौंमा थप तीनजनामा हैजाको जीवाणु पुष्टि भएको हो। हैजाका कारण हालसम्म कसैको मृत्यु भएको छैन।

अघिल्लो वर्ष हैजाका विरामी यसरी देखिएको थिएन तर यो वर्ष ह्वात्तै बढेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हैजा नियन्त्रण तथा रोकथामका लागि देशभरका प्रभावित क्षेत्रहरूमा हैजाको प्रकोपलाई नियन्त्रण गर्न विभिन्न उपाय अपनाउँदै आएको छ।

डेंगीसँगै यो वर्ष हैजाका विरामी पनि देखा परेका छन्। विगतका वर्षमा हैजा संक्रमण देखिएका ठाउँमा डेंगी संक्रमण कम हुने भए पनि यो वर्ष काठमाडौं उपत्यकामा हैजा र डेंगी सँगसँगै देखिन थालेको छ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *