काठमाडौं, ४ भदौ–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले कांग्रेस र एमालेबीच मध्यरातमा भएको सहमति स्वीकार्य नहुने बताएका छन् । कांग्रेस नेता प्रदीप गिरीको दोस्रो स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै एकीकृत समाजवादीका अध्यक्ष नेपालले संविधान संशोधन गर्ने भए खुला बहस गर्न चुनौती दिएका छन् ।
पूर्व प्रधानमन्त्री समेत रहनुभएका पार्टी अध्यक्ष नेपालले भने, ‘निर्वाचन प्रणाली र शासन व्यवस्थाको विषयमा कुरा उठाइरहेका छन्, यो देशलाई अगाडि बढाउनेछ भने हामीले बहस र छलफल गर्नुपर्छ । कम्युनिष्टहरुमा बुद्धि छैन, अहंकार ज्यादा, चेत पछि आउँदो रहेछ ।’
उनले भने, ‘तर मध्यरातमा गएर दुई वटा नेताले कागजमा सही गरेर हुन सक्नेवाला छैन । त्यो गर्नुपर्ने हो भने खुला बहस गरौं । अहिले बहसको कुरा नल्याउने, अचानक मध्यरातमा हस्ताक्षर गर्नाले नियतमाथि प्रश्न उठेको छ । त्यही कुरा मैलै उठाइरहेको छु ।’
अध्यक्ष नेपालले अहिलेको अवस्थामा आफूबाट भएका कमी कमजोरीहरूलाई दलका नेताहरूले स्वीकार गर्न सक्नुपर्ने उल्लेख गरे । उनले बहुदलीय प्रतिष्पर्धासहितको समाजवादबाटै मुलुकको विकास र समृद्ध सम्भव रहेको बताए । अध्यक्ष नेपालले राजनीतिमा निष्ठा र नैतिकताका साथै स्वच्छताको पनि आवश्यकता रहेको धारणा राखे । नैतिक आचरणले स्वच्छता नपाएसम्म देश र जनताप्रति समर्पित हुन नसक्ने उनको भनाइ छ ।

